काठमाडौँ, वैशाख २ गते । सुदूरपश्चिम प्रदेशमा मनाइने ‘बिसु’ पर्वका अवसरमा डेउडा समाजले राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । वरिष्ठ डेउडा गायक नन्दकृष्ण जोशीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री दिलेन्द्र बडू, भीम रावल, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, नेपाली कांग्रेसका नेता एनपी साउद, भानुभक्त जोशी, नैनसिंह महरलगायतको उपस्थिति थियो । नयाँ वर्षको पहिलो दिनलाई सुदूरपश्चिममा धुमधामका साथ बिसु पर्व मनाउने चलन छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वासअनुसार शुक्रबारको कार्यक्रममा पनि सिस्नुपानी छ्याप्दै, डेउडा खेलेर एक आपसमा शुभकामना आदानप्रदान गरिएको डेउडा गायक जोशीले बताउनुभयो । वि.सं २०५६ देखि हरेक वर्ष यो कार्यक्रम मनाउँदै आएको उहाँको भनाइ छ ।
वैशाख सुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलनअनुसार राजधानीमा बसोबास गर्दै आएका सुदूरपश्चिमेलीमाझ यो कार्यक्रम मनाइँदै आएको उहाँले बताउनुभयो । कार्यक्रममा वरिष्ठ नायिका शर्मिला मल्ल, इतिहासकार तथा अन्वेशकरत्न भण्डारी, वरिष्ठ साहित्यकार अन्जना पौडेल र रेडियो नेपालका पत्रकार प्रद्युन मिश्रलाई सम्मान गरिएको छ ।