अमरराज नहर्की
तनहुँ, वैशाख ११ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलकुको समस्या समाधानको लागि दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ। नेता मिल्न नसक्दा नेपाल विकासमा पछि परेको भन्दै उहाँले यस्तो बताउनुभएको हो।
भानु नगरपालिका–५ मा गरेको कोण सभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशको समस्या सबै दलको साझा समस्या हो। समस्या समाधानका लागि सबै दल एकजुट हुनु आवश्यक छ। पार्टीबीच सिद्धान्त फरक भए पनि मुलुक साझा एजेण्डामा दलबीच फरक मतभेद हुनु हुँदैन।’’
उहाँले एक अर्कामा मिलेर समस्याको समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘झैँ–झगडा गर्ने नभई देशको विकासका लागि मेलमिलाप गर्नुपर्छ।’’सभापति लामिछानेले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने बताउनुभयो।