• २१ वैशाख २०८१, शुक्रबार

श्रीमानको कुटाइबाट श्रीमतीको हात भाँचियो

blog

श्रीमानको कुटाई बाट हात भाँचिएकी सुनार गाउँपालिका उपाध्यक्ष रोकायालाई उजुरी सुनाउँदै । तस्बिर: राजन रावत

हुम्ला, चैत ३० गते । श्रीमानको कुटाई बाट एक जना तीन महिनाकी सुत्केरी महिलाको दायाँ हात भाँचिएको छ । बनमा दाउरा टिपेर घर फर्केकी श्रीमतीसँग  विवाद भएपछि श्रीमानले लात्तीले हान्दा भुईँमा बजारिदा हात भाँचिएको हो ।

सिमकोट गाउँपालिका–६ की जाल सुनारलाई श्रीमानले पिट्दा हात भाँचिएको हो । सुनारलाई श्रीमान् सुरेन्द्र सुनारले सामान्य विवाद हुँदा लात्तीले शरीरमा हिर्काएपछि उहाँको हात भाँचिएको हो ।  श्रीमती सुनारले बिहानको खाना खाएर घरका लागि आवश्यक पर्ने दाउरा टिप्न बनमा गएको विषयलाई लिएर श्रीमानले कुटेको बताउनुभयो । उहाँले श्रीमानले लात्तीले आफ्नो शरीरमा हाल्न आफू भुईँमा बजारिएको र ढुङ्गामा ठोकिएर दायाँ हात भाँचिएको बताउनुभयो । तीन महिनाकी सुत्केरी महिलालाई श्रीमानले कुटेर भाँचिएको हातको उपचार अस्पतालमा पनि गरिएको छैन ।

भाँचिएको हातलाई मानिसले स्थानीय प्रविधिको काठ बनाएर बाँधिएको छ । उहाँको हात दुखेर नवजात शिशुलाई दूध खुवाउन सक्ने अवस्था रहेको छैन । हातको उपचार कस्तो हुने हो त्यो पनि अहिले भन्न नसकिने अवस्था रहेको छ । उहाँ हात भाँचिएपछि सिमकोट गाउँपालिका– ३ को बर गाउँमा रहेको माइती घरमा बस्दै आउनु भएको छ ।

उहाँले शरीरमा चोट लागेपछि प्रहरीलाई उजुरी नगरेर गाउँपालिकाको न्यायिक समितिमा उजुरी हाल्नु भएको छ । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समितिको संयोजक सुशीला रोकाया भामले दुई पक्ष बसालेर छलफल गर्ने र दोषीलाई कारबाही अगाडी बढाउने बताउनुभयो ।

संयोजक रोकायाले घरेलु तथा महिला हिंसाका घटना दैनिक बढी रहेको र त्यसलाई न्यूनीकरण गर्नका लागि आफूले पहल गर्ने बताउनुभयो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।