• ११ मंसिर २०८१, मङ्गलबार

ग्रामीण अल्ट्रासाउण्डले आमा र बच्चाको जोखिम घटाउँदै

blog

प्युठान नगरपालिका–९ स्थित मरण्ठाना स्वास्थ्य चौकीमा गर्भवति महिलाको अल्ट्रासाउण्ड गरिँदै । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, चैत २९ गते । 
मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले सञ्चालन भएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी देखिएको छ । गर्भवती महिलाहरूको गाउँमै पुगेर अल्ट्रासाउण्ड गर्दा गर्भमा रहेको बच्चाको अवस्था थाहा हुने भएकाले जोखिम कम भएको हो ।

“गाउँपालिकाका पाँचै वटा वडामा पुगेर गर्भवतीको अल्ट्रासाउण्ड गरेका छौँ ।,”मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले भन्नुभयो, “एक महिनापछि पुनः सबै वडामा पुगेर जाँच गर्ने योजना छ ।”

गर्भवती महिलाको अल्ट्रासाउण्डसँगै रगत जाँच गरिएको प्रमुख शाहीले जानकारी दिनुभयो । “जाँचका क्रममा कतिपय जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती पनि भेटिए,” उहाँले भन्नुभयो, “उनीहरूलाई तत्काल रिफर गरिएको छ ।”

यो कार्यक्रम जिल्लाका नौ वटै स्थानीय तहमा लागू भएको छ । प्युठान नगरपालिकाका जनस्वास्थ्य अधिकृत बसन्ता अधिकारीले सबै वडामा पुगेर गर्भवती महिलालाई सेवा दिने योजना रहेको बताउनुभयो । पालिकामा अल्ट्रासाउण्ड गर्ने जनशक्ति नभएकाले अर्को पालिकाको तालिमप्राप्त जनशक्ति ल्याएर परिचालन गरिएको उहाँको भनाइ छ ।

ग्रामीण अल्ट्रासाउण्ड  कार्यक्रमका लागि सरकारले सबै पालिकामा नर्सिङ स्टाफलाई तालिमसहित मेसिन उपलब्ध गराउने नीति लिएको छ । तालिम प्राप्त व्यक्ति आमा समूह, गाउँघर क्लिनिकमा पुगेर सेवा दिने गरी सरकारले योजना अघि बढाएको छ । जसले गर्दा गर्भवती महिलाले गर्भ जाँच गर्नका लागि टाढा जानुपर्ने, महँगो शुल्क तिर्नुपर्ने लगायतका समस्यामा कमी भएको छ । यसले गर्भावस्थामा हुनसक्ने जोखिम कम गरी मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउने अपेक्षा गरिएको छ ।