• ८ वैशाख २०८१, शनिबार

कात्तिके बाली लगाउन व्यस्त मुगुका किसान

blog

स्थानीय प्रेमकुमार मल्ल कोदोको बीउ छर्नका लागि हलो लगाउँदै । तस्बिर: हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, चैत २६ गते । बर्सभरिमा एक पटक उत्पादन हुने कात्तिके बालीको बीउ छर्नलाई जिल्लाका किसानलाई हिजोआज भ्याइनभ्याइ छ । यति बेला जिल्लाका किसान कात्तिके बाली कोदो, मकै, आलु , भट्मासको बीउ छर्न व्यस्त छन् ।

यहाँको प्रमुख बाली कोदो, आलु, मकै, भट्मास र भुवा धानको बीउ छर्नलाई बिहानैदेखि बेलुकासम्म खेतीवारिमै काम गर्न किसानलाई चटारो भएको स्थानीय धनबहादुर बोहराले बताउनुभयो । हिमाली जिल्ला भएकाले वर्षको एक बाली  मात्र उत्पादन हुने गरेको छ । उक्त बालीको उपयुक्त समय चैत महिनाको दोस्रो हप्तादेखि तेस्रो हप्तासम्म बीउ छर्ने उपयुक्त समय भएको छायाँनाथ रारा नगरपालिका वडा नं ८ का स्थानीय पन्चबहादुर रावलले बताउनुभयो । चैतमा लगाइएको बाली असोज महिनाको दोस्रो हप्ताबाट सङ्कलन गरिन्छ ।

कोदो, काउली, मकै ,आलु र भुवा धान बालीको गोडमेल वैशाख महिनाको दोस्रो हप्तादेखि साउनको तेस्रो हप्तासम्म खेतबारीमा गई  गोडमेल गर्नुपर्ने हुन्छ । सरकारले ग्रामीण भेगका कृषकका लागि स्थानीय  बालीको बजारीकरण र प्रवर्द्धनमा कुनै पनि ध्यान नदिएको किसानको गुनासो छ । जिल्ला कृषि विकास कार्यालयले कर्णाली प्रदेशको कृषि मन्त्रालयको आर्थिक सहयोगमा आर्थिक वर्षमा कृषकका सहजताका लागि आधुनिकीकरण औजारका लागि ५० प्रतिशत अनुदानमा कृषकले माग गरे अनुसारका औजारमा अनुदान दिने कार्यक्रम रहेको बताइएको छ ।

कृषि विकास कार्यालयका प्रमुख रामबहादुर थापाले अन्य जिल्लामा अर्ग्यानिक पसलको स्थापनाका लागि अनुदानको कार्यक्रम भएको तर मुगुमा यो कार्यक्रम नभएकाले आगामी आर्थिक वर्षमा यो कार्यक्रम मागमा राखिने बताउनुभयो । यो कार्यक्रम लागु भएमा  जिल्लाको स्थानीय बालीको मागमा वृद्धि भई कृषकको बाली पनि उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ । स्थानीय बाली  उत्पादनको बजारमा बिक्री गर्नलाई कर्णाली प्रदेशको आर्थिक सहयोगमा लोगो र प्याकिङ र मूल्य सूचीको अनुदानको कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

कृषिसम्बन्धी कृषकको आमूल परिवर्तन गर्नलाई जिल्लाको कृषि विकास कार्यालयले जिल्लाको बस्तीसम्म पुगी नयाँ प्रविधिको  सिप कृषकको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको स्थानीय रूपबहादुर मल्लको सुझाव दिनुभयो ।