काठमाडौैं, चैत २४ गते । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गर्नुभएको छ ।
शुक्रबार महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै महान्यायाधिवक्ता पोखरेलले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यालयले प्रमाणहरूको मूल्याङ्कन गरी प्रक्रियागत रूपमा नै टुङ्ग्याएको दाबी गर्नुभयो । राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटि छ भनेर कतै नलेखेको उल्लेख गर्नुहुँदै उहाँले प्रक्रियागत रूपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने निर्णय लिएको बताउनुभयो ।
‘‘राहदानी प्रकरणको सम्बन्धमा हामीले प्रमाणहरूको मूल्याङ्कन गरेर प्रक्रियागत रूपमा आएका कुरालाई टुङ्ग्याएको हौँ । कहिले काहीँ हाम्रो तथ्यका रूपमा पनि समस्या हुन्छ, हामीले नेपाल प्रहरीलाई भनेका छौँ अनुसन्धान पूरा नभईकन आएको डकुमेण्ट हामी स्वीकार गर्दैनौँ ।,’’ महान्यायाधिवक्ता डा. पोखरेलले भन्नुभयो, ‘‘अनुसन्धानको प्रक्रियामा कहीँ त्रुटि छ भनेर अदालतले कतै लेखेको रहेनछ । भनेपछि अनुसन्धान पूरा भएर प्रक्रियागत आयो, त्यसपछि काठमाडौं सरकारी वकिल कार्यालयमा आयो, त्यसपछि उच्चमा गयो, म कहाँ आउँदा पनि यहाँ भित्र पनि एक जना महान्यायाधिवक्ता र एकजना नायव महान्यायाधिवक्ताको माध्यमबाट आउँछ ।’’
महान्यायाधिवक्ता डा. पोखरेलले राहदानीसम्बन्धी मुद्दा नचलाउने निर्णय कसैको दबाबमा नभई विवेकपूर्ण रूपमा गरिएको स्पष्ट पार्नुभयो । उहाँले अदालतको फैसलाले नै कतै पनि प्रक्रियागत त्रुटि रहेको उल्लेख नगरेकाले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोड्नु अन्याय हुने बताउनुभयो । महान्यायाधिवक्ताले राहदानीको मुद्दा नचलाउने निर्णयको स्वामित्व महान्यायाधिवक्ता कार्यालयले लिने भन्दै राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘राहदानी प्रक्रियागत रूपमा आइसकेपछि प्रमाणको मूल्याङ्कन गरेर विवेकको प्रयोग गरेर गरिएको निर्णय हो, त्यसैले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोडिनु अन्याय हुन्छ, त्यसो गरिनु हुँदैन भन्ने हाम्रो मान्यता छ । हाम्रो निर्णयको स्वामित्व हामीले लिएका छौँ । हामीले विश्वासकासाथ यो निर्णय गरेका हौँ । कानुन र प्रमाणको मूल्याङ्कन गरेर हामीले विवेकपूर्ण काम गरेका छौँ, राजनीतिक कुरासँग जोडिनु आवश्यक छैन ।’’
महान्यायाधिवक्ता पोखरेलले बलात्कारका घटनामा पीडितहरूले बयान फेर्ने कुरालाई मध्यनजर गरी महान्यायाधिवक्ताको कार्यालयले साक्षीको सुरक्षाका लागि आवश्यक काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना न्याय सम्पादन हुन कठिनाइ हुनेपनि बताउनुभयो ।
‘‘बलात्कारका घटना पीडितहरूले बयान फेर्ने कामहरू यसमा हामीले साक्षीको सुरक्षाको कुरा हाम्रो प्राथमिकताका कार्यक्रम हुन् । यो हाम्रो रणनीतिक योजना पनि उल्लेख गरिएको छ । पछिल्लो दिनमा हामीले यसलाई समावेश गरेका छन्, पीडितको सुरक्षा, साक्षीको सुरक्षाका कुरा हामीले समावेश गरेका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना हामी सफल हुन सक्दैनौँ । अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने ? हाम्रो मूल कुरा हो । गलत मान्छे प्रतिवादी बन्ने र प्रतिवादी बनाइनुपर्ने नबनाइनु र नबनाइनुपर्ने मान्छे बनाइने कुराले समस्या हुन्छ भनेर हामीले त्यसमा फोकस गरेका छौँ ।’’
महान्यायाधिवक्ता पोखरेलले अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने ? भन्नेकुरा महान्यायाधिवक्ताको कार्यालयको प्रमुख काम भएको उल्लेख गर्नुभयो ।