• १९ असार २०८१, बुधबार

मुक्त कमलरी आत्मनिर्भर बन्दै

blog

लीलाधर वली

घोराही, चैत २४ गते । मुक्त कमलरी आत्मनिर्भर र स्वावलम्बनमा जोडिन थालेका छन्। पछिल्ला दिनमा मुक्त कमलरीले विभिन्न पेसा, व्यवसाय गर्न थालेका छन्। आफू आत्मनिर्भर बन्नेक्रममा धेरैजसो मुक्त कमलरी परम्परागत पेसा, व्यवसायभन्दा फरकखालका काम पनि गर्न थालेका छन्। तीमध्येकी आत्मनिर्भरताको बाटोमा हिँड्न थाल्नुभएकी घोराही उपमहानगरपालिका–८ बेलुवाकी मुक्त कमलरी अनिता चौधरी हुनुहुन्छ। उहाँ विगत केही वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ। 

करिब पाँच कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएकी चौधरीले आलु, गोलभेँडा, गोभी, खुर्सानीलगायतका तरकारी बेचेर राम्रो आम्दानी गर्दै आउनुभएको छ। घरायसी कामकाज सकेर खाली भएको समयलाई सदुपयोग गर्दै तरकारी खेती गर्ने गरेको उहाँको भनाइ छ। सुरुवातमा मुक्त कमलरी विकास मञ्चको घुम्ती कोषमार्फत २० हजार ऋण लिएर कृषि व्यवसाय थालेको तरकारी खेतीबाटै पछिल्लो समय राम्रो आम्दानी गर्दै आउनुभएको छ। घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरनिवासी मुक्त कमलरी शोभा चौधरीले पनि केही वर्षदेखि फ्रेस हाउस सञ्चालन गर्दै आउनुभएको छ। मुक्त कमलरी विकास मञ्चमार्फत तालिम लिएर फ्रेस हाउस सञ्चालन गरेको बताउनुहुन्छ। घरमा खाली बस्नुभन्दा केही गर्ने सोचसाथ यो व्यवसाय गर्न थालेको उहाँको भनाइ रहेको छ। 

शोभाले भन्नुभयो, “घरमा फुर्सदमा समय बिताउनुभन्दा केही गरौँ भनेर व्यवसाय गर्न थालेकी हुँ। अहिले राम्रो कमाइ पनि भइरहेको छ।” आफैँ व्यवसाय गर्न थालेपछि पैसाका लागि अरूको भर पर्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। 

उहाँका श्रीमान्, दुई छोरी र एक छोरासहित पाँच जनाको परिवार छ। पाँच जनाको परिवारमा आइपर्ने आर्थिक समस्या फ्रेस हाउसबाट आएको आम्दानीले पुग्ने गरेको उहाँले बताउनुभयो। फ्रेस हाउस सञ्चालनमा उहाँलाई श्रीमान्ले समेत सहयोग गर्दै आउनुभएको छ। 

त्यसैगरी घोराही उपमहानगरपालिका–३, झिङ्नीका मुक्त कमलरी पुष्पा चौधरी पनि तीन वर्षदेखि नास्ता पसल सञ्चालन गर्दै आउनुभएको छ। आफ्नै पेसा व्यवसायबाटै आत्मनिर्भर, सक्षम बन्नका लागि नास्ता पसल सञ्चालन गरेको चौधरी बताउनुहुन्छ। कमलरीबाट मुक्त भएपछि अध्ययनलाई बीएडसम्म पु-याउनुभएकी उहाँले पछिल्लो समय व्यवसायमा जोडिएको बताउनुहुन्छ। 

उहाँले भन्नुभयो, “ठूलो अरू व्यवसाय गर्नका लागि पैसा थिएन। सानो लगानीमै नास्ता पसल गरेकी छु। अहिले राम्रो आम्दानीसमेत भइरहेको छ।” मालिकको घरमा चार वर्ष कमलरी बस्नुपरेको भन्दै उहाँले आर्थिक रूपमा सक्षम बन्न सके अब कोही पनि कमलरी बस्न नपर्ने बताउनुहुन्छ। पछिल्लो समय धेरै मुक्त कमलरी आयआर्जनका लागि व्यवसायमा जोडिनुभएको छ। 

मुक्त कमलरी विकास मञ्चले सञ्चालित मुक्त कमलरी सशक्तीकरण परियोजनामार्फत घोराही उपमहानगरपालिका–२, ४ र ८ नम्बर वडामा रहेका महिलालाई व्यावसायिक बनाउन काम गर्दै आएको छ। मञ्चले मुक्त कमलरी, दलित तथा अति विपन्न परिवारका महिलालाई सहयोग गर्दै आएको छ। 

मुक्त कमलरी विकास मञ्च दाङका सामाजिक परिचालक सुलोचना चौधरीका अनुसार महिलालाई पेसा र व्यवसायमा जोड्न व्यावसायिक सीपमूलक तालिम र बिनाब्याजमा आर्थिक सहयोग गर्ने गरेको छ। सन् २०२१ बाट सञ्चालित यो कार्यक्रम विशेष गरेर मुक्त कमलरीलाई आयआर्जनमा जोडिन महत्वपूर्ण भूमिका खेलेको उहाँ बताउनुहुन्छ। दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी मुक्त कमलरीको जनसङ्ख्या करिब १३ हजार छ।