बाबुराम शर्मा
सिन्धुलीमाढी, चैत २४ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विवाह गर्नुअघि वडा कार्यालयबाट विवाह गर्ने उमेर पुगेको योग्यताको प्रमाणपत्र पेस गरी सिफारिस लिनुपर्ने व्यवस्थाको सुरु गरेको छ।
गाउँपालिका अध्यक्ष शङ्करराज बरालका अनुसार गाउँपालिकामा बालविवाह बढ्दै गएपछि गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। विवाहका लागि २० वर्ष पुग्नुपर्ने र उमेर नपुगी विवाह गर्ने जोडीलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट समेत वञ्चित गर्ने निर्णय भएको छ।
“कानुनमा ‘बिहेबारी बीस वर्षपारि’ भन्ने गरिएको छ। व्यवहारमा भने यो पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। उमेर नपुग्दै विवाह गर्ने प्रचलन सिन्धुलीका ग्रामीण क्षेत्रमा अझै कायमै छ,” उहाँले भन्नुभयो। बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले बालबालिका, अभिभावकबीच प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बाल क्लब गठन र उनीहरूलाई तालिम, बालमैत्री शासन आदि कार्यक्रम सञ्चालन गरिरहेको पनि गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष बरालका अनुसार गरिबी र अज्ञानताका कारण पनि कतिपय बालविवाह हुने गरेको छ। मरिण गाउँपालिका भने ‘मरिणभरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ’ भन्ने नारा नै बनाएर बाल संरक्षण नीतिमार्फत बालविवाह न्यूनीकरणका लागि जुटेको छ। बालविवाह रोक्नकै लागि विवाहको निमन्त्रणा कार्डमा उमेर अनिवार्य उल्लेख गर्नुपर्ने नियम लागू गरेको गाउँपालिकाले जनाएको छ।
सुनकोसी गाउँपालिकाले पनि ‘सुनकोशीभरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ’ भन्ने नारा नै बनाएर अभियान सञ्चालन गरेको छ। बालविवाह न्यूनीकरण अभियानअन्तर्गत हालसम्म एक दर्जनभन्दा बढी विवाह रोकेको गाउँपालिकाले जनाएको छ।
बालबालिकालाई २० वर्षअघि विवाह गर्न रोक्न बालबालिका र अभिभावकलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाहीबारे जानकारी गराइरहेको गाउँपालिका अध्यक्ष दीपा बोहोराले बताउनुभयो। बालविवाह मानव विकास सूचकको हिसाबले पनि अनुपयुक्त रहेको र त्यसले सामाजिक विकृति, स्वास्थ्य समस्या, शारीरिक विकासमा बाधाजस्ता समस्या हुने गरेको स्थानीय तहले जनाएको छ।