• १० पुस २०८१, बुधबार

रेलवेको नयाँ समय तालिका

blog

राजविराज समाचारदाता

जनकपुरधाम, चैत २४ गते । नेपाल रेलवे सेवा आउँदो वैशाखदेखि जनकपुरधामको कुर्थाबाट नै सञ्चालनमा ल्याउने गरी बिहीबार कार्यतालिका सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० वैशाख १ गतेदेखि पहिलो पटक नेपाली भूमिबाट सिधै रेल सेवा सञ्चालन भएर जयनगरसम्म सञ्चालन हुन लागेको हो।

अहिले जयनगरबाट गुड्दै आएको रेल जनकपुरधामको कुर्थासम्म आउजाउ गरिरहेको छ। जयनगरदेखि–जनकपुरधामको कुर्थासम्म दैनिक दुई पटक आउजाउ गर्दै आएको रेल सेवाको समय पनि परिवर्तन गरेर कुर्था र जयनगरबाट छुट्टाछुट्टै समयमा सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नयाँ तालिकाअनुसार रेल सेवाको प्रस्थान र विश्राम बिन्दु कुर्था नै हो।”

नयाँ समय तालिकाअनुसार पहिलो ट्रिप रेल सेवा कुर्थाबाट बिहान ७: १५ मा सञ्चालन भई बिहान ९:१५ बजे जयनगर पुग्ने र जयनगरबाट बिहान ९:३० बजे चल्ने सोही रेल कुर्था बिहान ११:३० पुग्नेछ। त्यस्तै दोस्रो ट्रिप पनि कुर्थाबाट दिउँसो २:४५ बजे रेल गुडेर ४:४५ बजे जयनगर पुग्ने र त्यहाँबाट फेरि दिउँसो ५:०० बजे गुडेर साँझ ७:०० कुर्था पुग्ने गरी समय तालिका तयार गरिएको महाप्रबन्धक झाले जानकारी दिनुभयो। 

धार्मिक पर्यटक र व्यापार व्यवसायीलाई प्राथमिकतामा राखेर नयाँ समय तालिकाअनुसार रेल सेवा सञ्चालनमा ल्याउने गरी समय परिवर्तन गरिएको महाप्रबन्धक झाले बताउनुभयो। अहिलेको समय तालिकाअनुसार सञ्चालन भइरहेको रेल सेवाबाट व्यापारीलाई खरिद–बिक्री गर्न र पर्यटकलाई दर्शन, घुमफिर गर्न पर्याप्त समय नमिलेको गुनासो आएपछि नयाँ समय तालिका ल्याइएको उहाँको कथन छ।

बिहान कुर्थाबाट पहिलो ट्रिप चढेर जयनगर जानुहुने यात्री, व्यापारीलाई भारतीय बजारमा किनमेल र घुमफिर गर्न पर्याप्त समय पाउने र बिहान जयनगरबाट जनकपुरधाम आउनुहुने यात्रुलाई पनि यहाँको धार्मिक प्रतिष्ठानको दर्शन, पूजापाठ एवं किनमेल गर्न पर्याप्त समय हुने उहाँको धारणा छ। उहाँले भन्नुभयो, “बिहान जनकपुरधामबाट जयनगर पुग्ने यात्रु, व्यापारीले आठ घण्टा र जयनगरबाट जनकपुरधाम आउनुहुने धार्मिक पर्यटक, यात्रुलाई चार घण्टा समय पाउनेछन्।”

अहिले जयनगर–जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर सञ्चालन भइरहेको रेलको रात्रि विश्राम जयनगर बजार सीमावर्ती नेपालको इनर्वामा छ। त्यहाँबाट जयनगर पुगेर दैनिक दुई पटक आउजाउ गरिरहेको छ। नयाँ वर्षदेखि रात्रि विश्राम कुर्थामा रहनेछ र त्यहाँबाट सिधै जयनगरका लागि दुई पटक प्रस्थान गर्नेछ।