काठमाडौँ, चैत २४ गते । धनुषा र सिरहालाई जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी एक वर्षभित्र सञ्चालनमा आउने सरोकारवालाले दाबी गरेका छन् । हुलाकी सडक सङ्घर्ष समितिले ‘कमला पुलको दुर्दशा र हुलाकी सडकको अवस्था’ अन्तरक्रियामा सरोकारवालाले यस्तो दाबी गरेका हुन् ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले छिटो पुल सञ्चालनमा ल्याउने प्रयासमा आफू लागेको बताउनुभयो । निर्माण भइसकेको धनुषा–सिरहा जोड्ने कमला पुल सञ्चालनमा नआउँदै गत वर्ष असारको बाढीले भासिएको थियो ।
सो पुल अझै पुनर्निर्माण हुन सकेको छैन । पुल पुनर्निर्माणका लागि पटक–पटक आन्दोलन हुने गरेको छ । महानिर्देशक ढकालले अबदेखि पुनर्निर्माणका लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था नआउने प्रतिबद्धता जनाउनुभयो ।
“विभागले कमला पुल निर्माणका लागि दिनरात काम गरिरहेको छ । निर्माण कम्पनीलाई बोलाएर लगातार काम गर्न हामीले भन्दै आएका छौँ,” उहाँले भन्नुभयो । उहाँले कमला पुल पुनर्निर्माणका लागि माटो परीक्षणलगायतका काम भइरहेको र निर्माणको काम चाँडै सम्पन्न भएर सञ्चालनमा आउने उल्लेख गर्नुभयो ।
कमला पुल निर्माण गरिरहेको लुम्बिनी कन्स्ट्रक्सनका प्रमुख विष्णु शर्माले पुल निर्माणका लागि ढिला नहुने प्रतिबद्धता जनाउनुभयो । “अबको दुई/तीन महिनापछि वर्षा सुरु हुन्छ । सो समयमा काम हुँदैन । वर्षा सकिनेबित्तिकै काम सुरु हुन्छ,” उहाँले भन्नुभयो । उहाँले पुल भत्केकोमा आफूलाई दुःख लागेको बताउँदै एक वर्षभित्र जसरी पनि सञ्चालनमा ल्याउने दाबी गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादव (धनुषा) र दिनेश यादव (सप्तरी)ले सिरहा र धनुषावासीका लागि ‘लाइफ लाइन’ रहेको सो पुलको छिट्टै पुनर्निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
कमलामा पुल नभएकाले सिरहाबाट १८ किलोमिटरको दूरीमा रहेको जनकपुर पुग्न सिरहावासीलाई महेन्द्र राजमार्ग भएर ८२ किलोमिटर दूरी तय गर्नुपर्छ । २०६८ जेठ १३ गते पप्पु र लुम्बिनी जेभीले २४ करोड ९० लाख ९७ हजार रुपियाँमा पुल निर्माणको ठेक्का लिएका थिए । २०७७ मा मात्र निर्माण भएको सो पुल उद्घाटन नहुँदै भासिएको थियो ।