• १३ वैशाख २०८१, बिहिबार

किसानलाई गहुँ भित्र्याउन चटारो (फोटो फिचर)

blog

खेतमा गहुँ काट्दै किसान । तस्बिर : अविनाश चौधरी

धनगढी, चैत २३ गते । कैलालीका किसान गहुँ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई गहुँ काट्ने, थ्रेसिङ गर्ने, बाली भित्र्याउने चटारो बढेको हो । यस वर्ष अघिल्लो सातासम्म पानी परेर मौसम प्रतिकूल देखिएका कारण केही ढिलो गरेर गहुँ काट्ने काम गरिरहेको किसानले बताएका छन् ।

काट्न ढिलो गर्दा बाली अत्यधिक पाकेर गहुँको बाला कालो हुन थालेको छ । मौसम सफा भएपछि किसानले धमाधम गहुँ काट्न सुरु गरेको धनगढी उपमहानगरपालिका –१० घुइयाघाटका किसान प्रवेश रानाले बताउनुभयो । 

खेतमा गहुँ काट्दै गरेको अवस्थामा भेटिनुभएका उहाँले यस वर्ष गहुँबाली राम्रो भएको बताउनुभयो । ‘गत वर्ष गहुँको फूल फुल्ने बेला पानी बढी परेपछि दाना कम लागेको थियो’, उहाँले भन्नुभयो, ‘यो वर्ष उत्पादन राम्रो भएको छ ।’

धेरैजसो किसानले हातैले गहुँ काट्ने काम गरिरहेका छन् । कतिपय किसानले रिपरले गहुँ काटिरहेका छन् । रिपरले गहुँ काट्न सजिलो भए पनि थ्रेसिङ गर्नुपर्छ । तर जिल्लाको दक्षिणी, पूर्वीक्षेत्रमा ‘कम्बाइन हार्भेस्टर’ बाट गहुँ काट्ने कार्य भइरहेको छ । कम्बाइन हार्भेस्टरले गहुँ काटेर सिधैं दाना निकाल्ने गर्छ । थ्रेसिङ गर्नुपर्दैन । 

मेसिनले गहुँ काट्दा चाँडै काम हुनेगरेको धनगढी उपमहानगरपालिका –७ मनेहराकी द्रोपदी रानाले बताउनुभयो । ‘हातले काटेपछि धेरै दिन लाग्ने गर्दछ’, उहाँले भन्नुभयो, ‘मेसिनले काट्दा चार–पाँच दिनमै काम सकिन्छ ।’ 

गहुँ भित्र्याउने कामसँगै किसानले नयाँ गहुँ बिक्री पनि गर्न थालेका छन् । यो वर्ष बजार क्षेत्रमा गहुँको मूल्य प्रतिक्विन्टल चार हजार रुपियाँ छ । ग्रामीण क्षेत्रमा व्यापारीहरुले प्रतिक्विन्टल तीन हजार आठ सय रुपियाँमा गहुँ खरिद गरिरहेका छन् । गहुँको मूल्य राम्रो पाइएकाले थ्रेसिङ गरेलगत्तै गहुँ बिक्री गर्नेगरेको कैलारी गाउँपालिका –७ का कृषक चुल्हुवा चौधरीले बताउनुभयो । ‘मैले १० क्विन्टल गहुँ बिक्री गरिसकेँ’ उहाँले भन्नुभयो । 

कैलालीका लागि गहुँ धान पछिको दोस्रो प्रमुख बाली हो । यो जिल्लामा ३४ हजार ५६५ हेक्टर जमिनमा गहुँ खेती हुँदैआएको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी कृषि प्रसार अधिकृत जनकराज बोहराले जानकारी दिनुभयो । बाली सप्रेकाले यसवर्ष गहुँ उत्पादन बढ्ने किसानको अपेक्षा छ ।  

Author
अविनाश चौधरी

उहाँ धनगढीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।