• १२ मंसिर २०८१, बुधबार

पशु चौपायामा खोप प्रभावकारी

blog

पोखरा समाचारदाता

पोखरा, चैत २३ गते । पशु चौपायामा लगाउने गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ। पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागू गरिएको खोप कार्यक्रमले कास्कीका किसान खुसी भएका छन्। 

गाई, भैँसी, भेडा, बाख्रा, बङ्गुरलगायतका चौपायालाई खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा. शम्भुराज पाण्डेले जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारले २०७६/७७ देखि पूर्ण खोप लगाउने व्यवस्था गरेको थियो। उक्त  व्यवस्थाअनुरूप गत वर्ष गाई, भैँसी र बङ्गुरमा मात्र ९४ हजार ४०१ खोप लगाइएको थियो। गाईभैँसीमै हुने अर्को भ्यागुते र चरचरे रोगका लागि समेत गरी २६ हजार ३७१ खोप लगाइएको छ। बङ्गुरका स्वाइन फिबरका लागि झन्डै १५ हजार खोप लगाइएको छ।

त्यसैगरी भेडाबाख्रामा हुने पीपीआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेबिजविरुद्ध ६१ हजारभन्दा बढी खोप लगाइएको डा. पाण्डेले जानकारी दिनुभयो। कार्यालयले विभिन्न क्षेत्रमा गरी दुई लाख १८ हजार सात सय खोप लगाएको छ। खोप लगाउन प्राविधिक जनशक्तिको जटिलता रहेको उहाँको भनाइ छ। खोप लगाउन गाउँगाउँमा किसानका लागि सचेतनामूलक कार्यक्रम पनि भइरहेको छ। किसानले स्वस्फूर्त रूपमा खोपको माग पनि गरिरहेका छन्। खोपबारे हेम्जा गाई फार्मका सञ्चालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेकाले खोरेतको दुई पटक र अन्य खोप एक पटक लगाउने नीति अगाडि बढाउन सरकारलाई आग्रह गर्नुभयो। 

कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले खोपका माध्यमबाट पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने बताउनुभयो। यस वर्षको पूर्ण खोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भइसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको उहाँको भनाइ छ। पौडेलले भन्नुभयो, “भेडाबाख्राका लागि पीपीआर खोप चलिरहेको छ। महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोप गाउँपालिकामा पु-याउने लक्ष्य छ।”