• ४ वैशाख २०८१, मङ्गलबार

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैङ्क र एडिबीको आग्रह

blog

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधि छलफल गर्नुृहुँदै । तस्बिर : रासस

काठमाडौँ, चैत २२ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका दुई ठूला विकास साझेदार विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले  छलफल गर्नुभएको छ ।

विश्व बैङ्कको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उहाँसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।

“उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चासो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ”, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि रासससँग प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भन्नुभयो, “आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर समस्या भएको छ, त्यसकारण ठेक्का प्रक्रिया अघि बढ्न नसकेको र कामले गति लिन सकेको छैन भन्ने उहाँहरूको चासो छ ।”

 छलफलका क्रममा नयाँ विकास आयोजना र कार्यक्रमबारे पनि छलफल भएको उहाँले बताउनुभयो । 

“उहाँहरूले विभिन्न क्षेत्रमा सहयोग गर्न चाहन्छौँ भन्नुभएको छ, एसियाली विकास बैङ्कले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैङ्कले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्, त्यस्तै सडक आयोजनाहरूमा पनि बजेटरी सहयोगका लागि उनीहरूको चासो छ”, अर्थमन्त्री महतले भन्नुभयो ।

नेपालले अनुदान र सहुलियतपूर्ण ऋणलाई बढी प्राथमिकता दिनेबारे ती विकास साझेदारलाई आफूले जानकारी गराएको पनि मन्त्री महतको भनाइ छ । “उहाँहरूले अझै धेरै सहयोग गर्न चाहेको बताइरहँदा हामीले पनि अनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने भनेका छौँ, यसमा उहाँहरू पनि सहमत हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैङ्क र एडिबीले चासो देखाएका छन् । तत्कालीन आर्थिक समस्या र सरकारको प्राथमिकताबारे अर्थमन्त्रीसँग चासो राखेका थिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्य गरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिबद्ध रहेको अर्थमन्त्री महतले बताउनुभयो ।

अर्थमन्त्रीका रूपमा कार्यभार सम्हाले लगत्तै महतले नेपाल राष्ट्र बैङ्क र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरू, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थाल्नुभएको छ । तत्कालीन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने पनि उहाँले बताउँदै आउनुभएको छ ।