• ११ मंसिर २०८१, मङ्गलबार

मस्तिष्क मृत्युसम्बन्धी कानुन: कार्यान्वयन अझै जटिल

blog

काठमाडौँ, चैत २० गते । नेपालमा मस्तिष्क मृत्यु (ब्रेनडेथ)सम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि हालसम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ जनामा अङ्ग प्रत्यारोपण गरिएको छ । तीमध्ये १० जनामा मिर्गौला प्रत्यारोपण र तीन जनामा कलेजो प्रत्यारोपण गरिएको हो । 

आइतबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको आयोजनामा भएको अन्तक्र्रियामा नेपालमा मस्तिष्क मृत्युपछि अङ्गदान गर्ने व्यवस्था भए पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्दा थोरै व्यक्तिमा मात्र अङ्ग प्रत्यारोपण भएको जानकारी दिइयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ जनाले मात्र अङ्ग पाउनु धेरै कम भएको उल्लेख गर्दै मस्तिष्क मृत्युपछि हुने अङ्ग प्रत्यारोपणलाई सरकारले महत्त्व दिएको बताउनुभयो । उहाँले ब्रेनडेथमा कानुनी जटिलता नभए पनि व्यावहारिक रूपमा भने जटिलता रहेको चर्चा गर्दै स्वास्थ्य मन्त्रालयले अङ्गदानलाई प्रोत्साहन गरिरहेको बताउनुभयो । 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा मस्तिष्क मृत्युसम्बन्धी कानुन लागू भएको सात वर्ष बितिसक्दा पनि कार्यान्वयनमा अझै कठिनाइ भएको गुनासो गर्नुभयो । 

मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आफू जीवितै हुँदा मृत्युपश्चात् अङ्गदान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्यु भएपछि निजको शरीरबाट अङ्गदान गर्न मञ्जुरी दिएको अवस्थामा मात्र प्रत्यारोपण गर्न सकिने व्यवस्था छ । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बिरामी पक्षले मञ्जुरी दिए पनि प्रहरी र ब्रेनडेथ भएको व्यक्ति रहेको अस्पतालले खबर नगरिदिँदा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान हुन नसकेको बताउनुभयो । 

न्युरोरोग विशेषज्ञ डा. वसन्त पन्तले मस्तिष्क मृत्यु भइसकेपछि पनि बिरामीले हातखुट्टा चलाउने, आँखा हेर्नेजस्ता कार्य गर्ने भएकाले बिरामीका आफन्तलाई बिरामी बाँच्ने हो कि भन्ने भ्रम रहेको बताउनुभयो । मानव अङ्ग एकाइ प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठले अङ्गदान गर्ने व्यवस्था कानुनी रूपमा भए पनि व्यावहारिक जटिलताको सामना गरिरहेको बताउनुभयो । एकाइसँग मस्तिष्क मृत्यु भएका ३५ जना व्यक्तिको विभिन्न अस्पतालबाट फोन आए पनि पाँच जनाको मात्रै प्रत्यारोपण गर्न सकिएको बताउनुभयो । काठमाडौँमा मात्र प्रतिवर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान छ । 

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका पूर्वप्रमुख डा. हरिहर वस्तीले फरेन्सिक विभागमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मस्तिष्क मृत्युसम्बन्धी ऐनबारे जानकारी हुनुपर्ने बताउनुभयो । 

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्र मरासिनीले मस्तिष्क मृत्युपछि हुने अङ्गदानबारे आफूलाई जानकारी भए पनि मस्तिष्क मृत्यु भएका व्यक्तिका बारेमा खबर नगरेको बताउनुभयो । कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण विभाग प्रमुख डा. पवन चालिसेले नेपालमा प्रत्येक १० मध्ये एक जनामा कुनै न कुनै मिर्गौलासम्बन्धी रोग हुने गरेको बताउनुभयो । प्रत्येक वर्ष मिर्गौलाका तीन हजार नयाँ बिरामी थपिने गरेका छन् ।