• ११ मंसिर २०८१, मङ्गलबार

नेपाली ब्रोडकास्ट: रेडियो प्रसारणको प्रारम्भ

blog

अब उप्रान्तलाई प्रतिदिन दिउँसो १ बजेदेखि १–३० बजेसम्म नेपालबाट प्रचार हुने नेपाली ब्रोडकास्टलाई सज्जनहरूले आफ्नो रेडियोमा ३३ देखि ३५ मिटरसम्ममा सुन्नु होला।

वि.सं. २००३ माघ १४ गतेको ‘गोरखापत्र’ मा ‘नेपालमा रेडियो प्रचारको सूचना’ शीर्षकमा प्रकाशित माथिको व्यहोराको सूचना नेपालमा रेडियो प्रसारणको इतिहासको दृष्टिले निकै महत्वपूर्ण छ। उक्त सूचना नेपालमा रेडियो प्रसारणको थालनीको उद्घोष पनि हो। यस हिसाबले नेपालमा रेडियो प्रसारणको इतिहासले ७६ वर्ष पार गरिसकेको छ। यति मात्र होइन, नेपालमा रेडियो श्रवणको इतिहास ‘नेपाली ब्रोडकास्ट’ भन्दा लामो रहेको र तत्कालीन समयमा घरमा रेडियो सेट राख्न अनुमति लिनुपर्ने व्यवस्था रहेको तथ्यलाई पनि बिर्सन मिल्दैन। नेपाली ब्रोडकास्ट सुरु हुनुभन्दा छ महिनाअघि मात्रै सर्वसाधारणले पनि रेडियो राख्न पाउने गरिएको समाचार ‘गोरखापत्र’ मा छापिएको पाइन्छ।

यतिबेला मुलुकको जेठो र जीवित रेडियो प्रसारण संस्था ‘रेडियो नेपाल’ को ७३औँ वार्षिकोत्सव मनाइँदै छ। संस्थापक तारिणीप्रसाद कोइरालाको ‘यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो। ४१ मिटर बैन्डमा हामी काठमाडौँबाट बोलिरहेका छौँ’ (झङ्कार, ७०, सम्पादकीय) वाणीबाट २००७ चैत २० मा यसको प्रसारण प्रारम्भ भएको थियो। अहिले यसको प्रसारण देशभर विस्तार भइसकेको छ। रेडियो नेपालको आधिकारिक पोर्टलमा उल्लेख भएअनुसार, आर्थिक वर्ष २०७८/७९ को माघ महिनासम्म तीन वटा प्रसारण केन्द्रसहित सातवटै प्रदेशमा प्रादेशिक कार्यालय र मुलुकको विभिन्न २८ स्थानमा एफ.एम रिले स्टेसनको माध्यमबाट रेडियो नेपालले देशभर प्रसारण सेवा विस्तार गरेको छ। न्युजपोर्टलको माध्यमबाट विश्वभरका श्रोता/पाठक/दर्शकले पढ्न, सुन्न र हेर्न सक्छन्। नेपालमा एफ.एम प्रसारणको थालनी पनि रेडियो नेपालबाटै भयो, २०५२ सालमा। २०५२ सालमा एफ.एम प्रसारणका लागि अनुमति दिन थालिएको हो। त्यसयता एफ.एम रेडियो प्रसारणका लागि इजाजत लिनेहरूको सङ्ख्या बर्सेनि बढ्दो क्रममा रहेको देखिन्छ। सूचना तथा प्रसारण विभागको आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदनअनुसार, आ.व. २०७८/७९ सम्ममा जारी भएका एफ.एम रेडियो प्रसारण इजाजतपत्रको सङ्ख्या एक हजार १७१ पुगेको छ। नियमित प्रसारणमा रहेका एफएम रेडियोको सङ्ख्या ७०७ रहेको छ। 

प्रसङ्ग फेरि ‘नेपाली ब्रोडकास्ट’ कै। रेडियो नेपालको वार्षिकोत्सवको सन्दर्भमा ‘नेपाली ब्रोडकास्ट’ को सम्झना गर्नु नेपालको प्रसारण इतिहासको प्रारम्भ बिन्दुलाई सम्झने र त्यसलाई जीवित राख्ने प्रयास पनि हो। त्यतिबेलाको ‘नेपाली ब्रोडकास्ट’ को दायरा साँघुरो थियो होला र पत्रकारिताका मूल्य मान्यताबाट त्यो सञ्चालित थिएन होला। थुप्रै कमीकमजोरी थिए होलान् तर त्यो नेपालमा रेडियो प्रसारणको प्रारम्भ बिन्दु रहेकोलाई स्वीकार गर्नैपर्छ।

‘नेपालमा रेडियो प्रचारको सूचना’ प्रकाशन भएको एक सातापछि गोरखापत्रमा नै प्रकाशित सम्पादकीयबाट प्रारम्भिक दिनमा काठमाडौँ उपत्यकामा प्रसारण सीमित रहेको पनि थाहा हुन्छ। २००३ माघ २१ गतेको गोरखापत्रमा प्रकाशित ‘नेपाल रेडियो स्टेसन’ शीर्षक सम्पादकीयमा उल्लेख छ, ‘आजकाल प्रतिदिन नेपालको बिजुलीघरले रेडियोको प्रचार पनि गर्दै छ। स्टेसन शक्तिशाली नहुनाले चार भञ्ज्याङबाहिर आवाज पुगेको थाहा पाइएन। चार भञ्ज्याङभित्रलाई काम चलाउ सुनिदै छ। योभन्दा बर्ता शक्तिशाली स्टेसनको स्थापना नभई नेपालको प्यास मर्दैन भन्ने कुरो यो रेडियो प्रचारका प्रबन्धकले बुझेकै कुरो हुनुपर्छ।’

‘गोरखापत्र’ कै एउटा समाचारले ‘नेपालको प्यास’ मेटाउन धेरै समय नलागेको सङ्केत गर्छ। २००३ फागुन ६ गतेको ‘गोरखापत्र’ मा ‘रेडियोबाट विराटनगरमा राम्रै सुनियो’ शीर्षकको समाचारमा उल्लेख छ, “विराटनगर फागुन ४ गते। आज दिउँसो ३।१५ को समयमा नेपालबाट रेडियोबाट प्रचारित श्री ३ महाराजबाट अस्ति २ गते बक्सेको भाषण खुब राम्रो हिसाबसँग यहाँका रेडियो सेटमा सुनियो। खास गरेर पछिल्ला भाग ता दिल्ली, कलकत्ताबाट आएजस्तै गरी आयो।” तर, नेपालका अन्य भूभागमा त्यसको प्रसारण के कस्तो थियो भन्ने जानकारी पाइँदैन। विराटनगरसम्म सुनिएको प्रसारण देशका अन्यत्र पनि सुनिएको अनुमान भने गर्न सकिन्छ। 

‘नेपाली ब्रोडकास्ट’ को थालनी सीमित स्रोतसाधनबाट भएको बुझ्न सकिन्छ। काठमाडौँको उत्तर–पूर्वी कुनामा रहेको ‘बिजुली अड्डा’ को एउटा कोठामा जडान गरिएको ट्रान्समिटरको सहायताबाट भजन र प्रार्थना प्रसारण गरिएको टेक बी. खत्रीले ‘नेपाल्स मास मिडिया’ मा उल्लेख गर्नुभएको छ। रेडियो प्रसारणको व्यवस्था इलेक्ट्रिकल इन्जिनियर काशीराज पाण्डेबाट भएको शिव रेग्मी र पी. खरेलले ‘नेपालमा आमसञ्चारको विकास’ कृतिमा उल्लेख गर्नुभएको छ। 

‘विष्णु प्र. शाह, महाराजगञ्ज’ नामबाट ‘गोरखापत्र’ मा २०४५ वैशाख १७ मा छापिएको ‘हरे राम हरे कृष्ण’ शीर्षकको ‘सम्पादकलाई चिठी’ ले पनि ‘नेपाली ब्रोडकास्ट’ बारे थाहा पाउन सघाउँछ। चिठी लेखक विष्णु प्र. शाह सूचना तथा सञ्चार सचिव, प्रमुख निर्वाचन आयुक्तलगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका विष्णुप्रताप शाह रहेको विश्वास गरिन्छ। चिठीमा लेखिएको छ, उक्त नेपाल रेडियो स्टेसन तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले नेपालमा रेडियो स्टेसन स्थापना गर्ने योजनाको पूर्वाभ्यासको रूपमा सुरु गर्नुभएको हो। त्यो तपाईं हामीले जाने बुझेको अर्थमा रेडियो स्टेसन थिएन। दोस्रो विश्वयुद्धमा ब्रिटिस सरकारको सहायताको निमित्त भारत गएको नेपाली फौज स्वदेश फर्कंदा साथै लिएर आएको रेडियो ट्रान्समिटर सेटलाई उपयोग गरी दिनको एक–डेढ घण्टा भजन मात्र प्रसारण गर्ने गरी उक्त रेडियो सञ्चालन गरिन्थ्यो। पद्मशमशेर रामभक्त भएको कारणले होला ‘हरेराम हरेकृष्ण’ जस्तो भजनले नै उक्त प्रसारणको धेरैजसो समय लिन्थ्यो। अरू कुनै कार्यक्रम यसमा थिएन। म आफैँले पनि केटाकेटीमा यो प्रसारण सुनेको हुँ। मलाई झझल्को लागेसम्म प्रसारणको समय दिउँसो ३ बजे थियो। जनता रामभक्तिमा लागून् भनी पद्मशमशेरले यो कार्यक्रम सुरु गराएको भनी हाम्रा अभिभावक र गुरुजनबाट हामी केटाकेटीले सुनेका थियौँ।” 

बीच बीचमा रोकिएर २००७ सालअघिसम्म उक्त प्रसारण जारी रहेको पनि रेग्मी र खरेलले उल्लेख गर्नुभएको छ। २००४ साल फागुनमा काठमाडौँ छाडेर भारततर्फ लाग्नुभएका पद्मशमशेरको राजीनामापछि मोहनशमशेरको दबाबमा सो प्रसारण बन्द गरिएको भनाइ पनि छ तर २००८ सालमा रेडियो नेपालमा आबद्ध भई २०४४ सालमा अवकाश लिनुभएका भोग्यप्रसाद शाहले ‘रेडियो नेपालको इतिहास र विकासक्रम’ मा पद्मशमशेरपछि मोहनशमशेरले पनि रेडियो प्रसारण आफ्नो देशमा स्थापना गर्ने उद्देश्यले रेडियो ट्रान्समिटर झिकाएको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “ती ट्रान्समिटर २००७ सालपछि कहिले कलकत्ता बन्दरगाहमा उत्रिए थाहा नभई अलपत्र परेका रहेछन् तर पछि २०११ सालतिर कारबाही गरी नेपाल उतारिएका थिए।”

‘नेपाली ब्रोडकास्ट’ मा भजन र प्रार्थनाका अतिरिक्त अन्य सामग्री पनि प्रसारण हुन्थे भन्ने देखिन्छ। प्रत्यूष वन्तले ‘रेडियो नेपालभन्दा पहिलेको युगमा नेपालीको रेडियो अनुभव’ मा “रेडियो प्रसारण कस्तो सुनिन्छ भनेर श्रोताहरूलाई हुलाकमार्फत प्रतिक्रिया पठाउन अनुरोध गर्ने, हनुमान स्तोत्र पाठ गर्ने, गीत भजन, बजारभाउ, कविता, गोरखापत्रमा प्रकाशित समाचारका अंश आदि सामग्रीहरू” प्रसारण हुने गरेको उल्लेख गर्नुभएको छ। यस्तै, २००३ फागुन ६ गते गोरखापत्रमा छापिएको ‘रेडियोबाट विराटनगरमा राम्रै सुनियो’ शीर्षक समाचारमा पनि तत्कालीन प्रधानमन्त्रीको भाषण सुनिएको उल्लेख भएबाट भजन–प्रार्थनाका अतिरिक्त अन्य सामग्रीहरू प्रसारण भएको देखिन्छ। 

‘नेपाली ब्रोडकास्ट’ बाट निर्विवाद रूपमा नेपालमा रेडियो प्रसारणको थालनी भएको हो तर नेपालमा रेडियो प्रसारणको इतिहासबारे उल्लेख गर्दा कतिपय लेखकले यसबारे उल्लेख नै गर्ने गरेका छैनन् भने केहीले यसको प्रसारण २००४ सालमा भएको उल्लेख गरेको पाइन्छ। सूचना तथा प्रसारण विभागको ‘नेपाल परिचय’ मा समेत यही गल्ती पटक पटक हुँदै आएको छ। 

वि.सं. २००७ को जनक्रान्तिको समयमा भोजपुरबाट पनि रेडियो प्रसारण भएको थियो भन्ने जानकारी पनि कमै कृतिमा मात्र पाइन्छ। जनक्रान्तिका स्वतन्त्र सेनानीमध्ये एक नारदमुनि थुलुङको संस्मरणात्मक कृति ‘बिर्सेका अनुहारहरू : बिर्सन नसकिएका घट्नाहरू’ मा भोजपुर कब्जा भएको पाँचौँ दिन अर्थात् २९ मङ्सिर २००७ बाट भोजपुरबाट ‘स्वतन्त्र नेपाल रेडियो’ प्रसारण भएको उल्लेख छ। भोजपुरमा प्रयोग गरिएका उपकरण नै लगेर विराटनगरबाट थालिएको ‘नेपाल प्रजातन्त्र रेडियो’ का बारेमा भने चर्चा र उल्लेख हुने गरेको पाइन्छ।

‘नेपाली ब्रोडकास्ट’ ले नेपालमा रेडियो प्रसारणको गोरेटो को-यो। नेपालको जनक्रान्तिको समयका ‘स्वतन्त्र नेपाल रेडियो’ र ‘नेपाल प्रजातन्त्र रेडियो’ ले गोरेटोलाई केही फराकिलो पार्ने र जनसमुदायमा रेडियो प्रसारणप्रति आकर्षण बढाउने काम गरे। नेपालमा रेडियो प्रसारणको इतिहासको त्यो पाटोको गलत बयानी र बेवास्ताले इतिहासलाई ओझेलमा पार्दै नामेट गर्ने काम पनि हुन सक्छ। यसरी इतिहास नै नामेट गर्ने काम सही होइन। रेग्मी र खरेलका शब्दमा त “बिजुली अड्डाबाट प्रसारण गरिएको रेडियो प्रसारणसम्बन्धी सरसामान र विराटनगरमा सानो रूपमा सञ्चालित प्रजातन्त्र रेडियोको अनुभवलाई सँगाली क्रान्तिपछि सुधार र विकास गरी २००७ साल चैत २० गते तदनुसार २ अप्रिल १९५१ देखि सिंहदरबारभित्र रेडियो नेपालको स्थापना भएको हो।” यसले पनि नेपालको प्रसारण इतिहासको प्रारम्भिक अध्यायको लेखन तथा पुनर्लेखनको आवश्यकतालाई औँल्याउँछ।

लेखक गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक हुनुहुन्छ।