• २६ वैशाख २०८१, बुधबार

सिंहदरबारमा सार्वजनिक धारा

blog

काठमाडौँ, चैत १८ गते । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ। जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा ल्याइएको सो धाराको निवर्तमान खानेपानी मन्त्री अब्दुल खानले शुक्रबार उद्घाटन गर्नुभयो। 

उहाँले सिंहदरबारका साथै सार्वजनिक स्थल, अस्पताल, बसपार्क, विमानस्थलमा समेत सार्वजनिक धारा सञ्चालन गर्ने योजना मन्त्रालयको रहेको बताउनुभयो। सञ्चालनमा ल्याइएका दुईवटा धाराबाट आगन्तुक, सेवाग्राही र कर्मचारीले पानी खान सक्नेछन्। 

निवर्तमान खानेपानी मन्त्री खानले जार तथा बोतलको पानी विस्थापित गर्ने कार्यलाई मन्त्रालयले प्रमुखताका साथ अगाडि बढाएको बताउँदै अबको केही महिनाभित्र नै पानीको मूल्य घटाएरै छोड्ने प्रतिबद्वता व्यक्त गर्नुभयो। मन्त्रालयले बजारमा जार र बोतलको मूल्य घटाउने सम्बन्धमा समेत काम गरिरहेको उहाँको भनाइ छ।

पानीमा धनी हुँदाहुँदै पनि किनेर खानु दुःखको विषय भएको बताउँदै उहाँले दुईदेखि साढे दुई वर्षभित्रमा तराई मधेशमा र पाँच वर्षभित्र मुलुकभरि नै पानीको समस्या समाधान गरी नेपालको पानी विदेश निर्यात गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो।

‘एक घर एक धारा’ अभियान

सो अवसरमा निवर्तमान मन्त्री खानले मुलुकभरि नै ‘एक घर एक धारा’ अभियान सुरु गरिसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले एक घर एक धारा अभियानका रूपमा काम अघि बढाइसहेका छौँ। हाम्रो मन्त्रालयको निम्ति मैले सोचेअनुसार ऐतिहासिक काम हो। यहीअनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन।’’

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले सिंहदरबारमा मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रूपमा प्रतिस्थापन गर्ने योजनाअन्तर्गत नै मेलम्चीको पानी वितरण सुरु गरिएको बताउनुभयो। उहाँले मेलम्चीको पानी वितरण सुरु भएपछि अहिले पानी खरिदमा खर्च भइरहेको मासिक करोडौँ रुपियाँ बच्ने विश्वास व्यक्त गर्नुभयो। 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले सञ्चालनमा ल्याइएको धाराको पानी प्रत्यक्ष रूपमा खान हुनेगरी पूर्ण रूपमा शुद्ध रहेको बताउँदै सो धारा २४सै घण्टा सञ्चालनमा रहने जानकारी दिनुभयो।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नयाँ बानेश्वर केन्द्रका प्रमुख विजय विश्वकर्माले सिंहदरबारभित्र तत्काल थप तीन ठाउँमा सार्वजनिक धारा सञ्चालनमा ल्याउने योजना रहेको र अबको १० दिनभित्र ती धारा सञ्चालनमा आइसक्ने जानकारी दिनुभयो। उहाँका अनुसार अब गृह मन्त्रालय, खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राङ्गणमा सार्वजनिक धारा जडान गरिने भएको छ।