• ८ वैशाख २०८१, शनिबार

लाग्न छाड्यो आँधीखोलामा बाह्रबिसे मेला

blog

कोरोना महामारी अघिसम्म रामनवमीका दिन बाह्रबिसे मेला लाग्नेगरेको वालिङ –९ स्थित आँधीखोलाको तिर । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, चैत १६ गते । प्रत्येक वर्षको चैते दशै (रामनवमी) को अवसर पारेर वालिङ –९ को बाह्रबिसेमा ठूलो मेला लाग्ने गर्थ्यो । मेला भर्न र रमाइलो हेर्न जिल्लाभरबाट मात्रै होइन पर्वत, गुल्मी, पाल्पालगायत जिल्लाबाट मानिसहरू आउने गर्थे । 

जिल्लाको चर्चित मेला भर्नका लागि विदेश गएका र जिल्लाबाट बाहिर रहेकाहरू समेत घर फर्किन्थे । मेलाका लागि एक हप्ता अगाडिबाट तयारी हुन्थ्यो, खुला चौरमा पसल राख्न  कतिपयले ठाउँ नै पाउँदैन थिए । कोरोनाको महामारी फैलिनु अगाडिसम्म पनि मेला भव्य रूपमा लाग्थ्यो । कोरोना महामारीपछि मेला लाग्न छाडेको छ । 

मेलामा ठेका, डाला, नाङ्ला, आँसी, बाउसालगायतका सामग्री खरिद गर्ने प्रचलन थियो । मेलामा लिङ्गे पिङ र चर्खे पिङ्गको रौनक फरक हुनेगथ्यो । रैथाने साङ्गीतिक प्रस्तुतिका कारण मेलामा रमाउनेको सङ्ख्या उल्लेख्य हुन्थ्यो ।  

बढ्दो सहरीकरण र मोबाइललगायतका प्रविधिको प्रयोगका कारण मेला विस्थापित हुन पुगेको स्थानीय यमकान्त गैह्रेको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले स्टल बनाएर व्यापारका लागि उपलब्ध गराउने गथ्र्यौं तर कोरोनापछि मेला हुने वातावरण बनेको छैन ।’

मेला सञ्चालन गर्न आफूहरू छलफलमा जुटेको वडा –९ का वडाअध्यक्ष शेरबहादुर श्रेष्ठले बताउनुभयो । आगामी वर्षबाट निरन्तरता दिन सकिन्छ कि भन्नेमा हाम्रो ध्यान छ श्रेष्ठले भन्नुभयो । 

पहिले मेलामा अत्यधिक व्यापार हुने डाला, सुपालगायतलाई प्लास्टिकका सामग्रीको प्रयोगले विस्थापित गर्दै लगेको छ । मेलाको मौलिकता नै पुराना र स्थानीय उत्पादन मात्रै बिक्री वितरण हुन्थ्यो ।  

वालिङको पहिचानका रूपमा रहेको र परम्पराकालदेखि लाग्दैआएको मेला हराउँदा चिन्ता लागेको स्थानीय ८६ वर्षीय सूर्यप्रसाद गैह्रेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै पहिलेदेखि त्यो ठाउँमा मेला लाग्थ्यो अहिले हरायो ।’