• १५ वैशाख २०८१, शनिबार

बेलायतका राजा चार्ल्स तृतीयले बुन्डेस्टागलाई सम्बोधन गर्नुहुँदै

blog

बेलायतका राजा चार्ल्स तृतीय ।

बर्लिन, चैत १६ गते । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चार्ल्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै हुनुहुन्छ ।

बेलायतको राजसिंहासन सम्हालेपछि भएको उहाँको यो पहिलो विदेश भ्रमणमा हो । बेलायत नरेशका रूपमा जर्मन संसद्लाई उहाँ पहिलोपटक सम्बोधन गर्दै हुनुहुन्छ । त्यसअघि उहाँले चान्सलर ओलाफ स्कोल्जसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

बेलायतका तत्कालीन युवराज चार्ल्सले सन् २०२ मा पनि जर्मन संसद्लाई सम्बोधन गर्नुभएको थियो । मेलमिलाप दिवसका अवसरमा भएको उहाँको त्यो सम्बोधनलाई दुई देशबीचको युद्धपछिको मेलमिलापको प्रतीकका रूपमा हेरिएको थियो । धारा प्रवाह जर्मन भाषा बोल्ने क्षमता भएका उहाँले आज जर्मन र अङ्ग्रेजी दुवै भाषामा संसद्लाई सम्बोधन गर्नुहुने ठानिएको छ ।

बेलायतका राजदम्पतिलाई जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर र प्रथम महिला एल्के बुडेनबेन्डरले सैन्य सम्मानका साथ बुधबार ब्रान्डनबर्ग गेटमा भव्य स्वागत गर्नुभएको थियो । बुधबार नै बेलायती विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति स्टेनमेयरले बेल्लेभ्यु प्यालेसमा राजकीय भोज आयोजना गर्नुभएको थियो ।

त्यस अवसरमा राजा चार्ल्सले बेलायत र जर्मनीबीच विद्यमान चिरस्थायी सम्बन्धको सराहना गर्नुभयो । राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भन्नुभएको छ ।

नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चार्ल्सको यो भ्रमण भएको हो । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोध प्रदर्शनका कारण उहाँको भ्रमण स्थगित भएको थियो ।

शुक्रबार स्वदेश फर्कनुअघि राजा चार्ल्स ब्रान्डनवर्ग पुग्नुहुनेछ । त्यहाँ उहाँले युक्रेनी शरणार्थीलाई भेट्नुहुनेछ भने उत्तरी बन्दरगाह सहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गर्नुहुने कार्यक्रम छ ।

युरोपेली सङ्घबाट बेलायत बाहिरिएपछि राजगद्दी सम्हाल्नु भएका राजाबाट भएको राजकीय भ्रमणले जर्मनीसँगको सम्बन्ध विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस/एएफपी