• १५ चैत २०८०, बिहिबार

अवरोध हटे पनि अलमलमा परेको सर्भिस लेन

blog

काठमाडौँ, चैत १६ गते । माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारका लागि कोटेश्वर–जडीबुटी खण्डको सर्भिस लेनमा रहेको जटिल अवरोध हटेर सर्भिस लेन कालोपत्रे भइसकेको छ तर त्यसअघि नै अवरोध हटिसकेको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिणको सर्भिस लेन भने अझै नबन्दा उक्त सडक खण्डमा हुँदैआएको ट्राफिक समस्या ज्यूँका त्यूँ छ।

यही कारण मनोहरामा बनेका सर्भिस लेनको उत्तरतर्फको पुल बस तथा मिनी बसका लागि निःशुल्क पार्किङस्थल बनेको छ र माइतीघर–सूर्यविनायक सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। समग्रमा भने बाटो नखुल्नुले ट्राफिक समस्या मात्र बढाएको छैन, पूर्वाधार विकासमा सरकारका सम्बन्धित निकायको प्राथमिकताको पनि पोल खोलेको छ।

जडीबुटी चोकमा सडक विस्तार गरिए पनि चोकदेखि पूर्व मनोहरा खोलाको पुलसम्म मूल सडकका दायाँ र बायाँ बनाइएको सर्भिस लेन निर्माण हुनसकेको छैन। सर्भिस लेन निर्माण नभएसम्म सो क्षेत्रमा सवारी जामको समस्या समाधान हुन नसकेको हो। जापानी सहयोग नियोग (जाइका)को सहयोगमा २०६१ सालमा माइतीघर–सूर्यविनायक सडक छ लेनमा विस्तार भएको थियो।

माइतीघर–सूर्यविनायक सडकको जडीबुटी चोकको पश्चिम–उत्तर चोकमा रहेको एउटा घर नहटाउँदा छ लेनको अति व्यस्त सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। गत भदौमा काठमाडौँ महानगरपालिका र काठमाडौँ सडक डिभिजन कार्यालयको समन्वयमा सो घर हटाइएपछि सडक विस्तार कार्य सुरु भएको थियो। अहिले कालोपत्रे भइसकेको छ र पेप्सीकोलातर्फ जाने सवारीसाधन त्यही बाटो भएर जान थालेका छन्। त्यहाँबाट पूर्वतर्फ लाग्ने लेनमा भने चोकमै माटोको ढिस्को रहेको छ। दक्षिणतर्फको सर्भिस लेन भने उत्तरको जस्तो विकट छैन। त्यहाँबाट सवारीसाधन चल्छन् पनि तर पानी परेको बेला भने दुईपाङ्ग्रे साधन डुब्ने अवस्था हुन्छ।

स्थलगत अवस्था यस्तो रहे पनि काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद निहुरे भने माइतीघर–सूर्यविनायक सडक ‘फूल फेज’मा सञ्चालनमा आएको दाबी गर्नुहुन्छ। उहाँले त्यही एउटा घरका कारण अवरुद्ध सडक खुल्दा पूरै सडक खुलेको बताउनुभएको हो। उहाँले भन्नुभयो, “वर्षौंदेखि अवरुद्ध रहेको कोटेश्वरदेखि जडीबुटीसम्मको सडक विस्तार बल्ल पूरा भएको छ। सडक विस्तारसँगै अब सो ठाउँमा विस्तारित सडक सवारी आवागमनका लागि नियमित प्रयोगमा आइसकेको र अब यो सडकमा पहिलेको तुलनामा ट्राफिक जाम न्यून हुनेछ।”

डिभिजन प्रमुख निहुरेले नै फेरि जडीबुटी चोकदेखि मनोहरा पुलसम्मको सर्भिस लेन निर्माणका लागि भने भर्खर बजेट माग गरिएको बताउनुभयो। जब कि त्यो खण्डमा कुनै अवरोध थिएन। मनोहरामा पनि दुवै लेनका लागि पुल बनिसकेका थिए। उहाँले “बजेट आउनेबित्तिकै यसै आर्थिक वर्षदेखि सर्भिस लेन निर्माण सुरु गरिने,” बताउनुभयो।

जापानी सहयोग नियोग (जाइका)को सहयोगमा २०६१ सालमा बनेको माइतीघर–सूर्यविनायक छ लेन सडकमा विस्तार भएको थियो। माइतीघर–सूर्यविनायक सडक मुलुककै पहिलो छ लेनको सडक हो। त्यसै सडकमा पर्ने सूर्यविनायक–धुलिखेल सडक पनि अहिले विस्तारको क्रममा छ।