• ९ मंसिर २०८१, आइतबार

मेलबर्न आएर (कविता)

blog

आफ्नो गाउँका बारीका कान्लाबाट 

छलाङ मारेर आइपुग्दा 

मेलबर्न, 

निद्रा खुलेजस्तो 

समयको छ दशकपछि देखेको 

सौन्दर्य चिन्तनको– 

आकाशबाट उड्ने काकातुवा भएको छु । 

मेलबर्न आएर 

एक पटक फेरि बालक भएको छु । 

“ढोका आफैँ खुल्छ,

नसमात्नू बसको ढोका, बा !”

हो त,

किन समात्नु 

बारी खनेर आएको हातले दाग लाग्ला । 

पारी डाँडाको साइँलो बोलाउँदा 

चिच्याउनु पर्ने मलाई,

पल्लाघरे माइली बोलाउँदा 

कराउनुपर्ने मलाई,

सिकाउँछ छोरो–

“नबोल्नू बा, 

कोल्स सुपरमार्केटमा 

आवाज निकालेर 

बाधा पर्छ अरूलाई ।”

चुपचाप चुपचाप मौनताको चालक भएको छु,

मेलबर्न आएर 

एक पटक फेरि बालक भएको छु । 


गाउँको धुलाम्मे गोरेटोमा यताउति तलमाथि 

गाउँको माटो सुँघ्दै हिँडेको म 

छोरो भन्छ–

“सडक सफा छ भन्दैमा 

पारी जानु हुन्न आँखा चिम्लेर,

रातो बत्तीमा कुर्ने, बा 

हरियोमा मात्र काट्ने”      

पछिपछि छोरोको 

कमिजको फेरो समातेर 

हिँड्दै सोच्छु–

हामीकहाँ कहिले बाल्ने रातो हरियो रङका बत्ती ?

अबोध भएको छु 

एकदम अबोध भएको छु । 

मेलबर्न आएर 

एक पटक फेरि बालक भएको छु । 


साथी बन्दै थियो माइकी कार्ड–

सिक्दै भाडा तिर्न बस र रेलमा,  

खोज्दै गुगलम्याप पछ्याउन सिकेको हो नि– 

५०७ नम्बरको मेलबक्समा मेल आयो कि ? 

३५ नम्बरको फ्री ट्रामगाडी चढेर घुम्ने हो कि ?  

सिक्दासिक्दै 

छ दशकपछि भेटेको यो प्रमत्त आधुनिकता 

प्रस्थान दिनको बोलावटले 

फर्कंदै आफ्नै गाउँघरको सञ्चालक भएको छु 

मेलबर्न आएर 

एक पटक फेरि बालक भएको छु ।