गर्जिरहेछन् वर्षाका बादलझैँ
मेरा नलेखिएका कविताहरू ।
अग्निका ऋचाहरू छन् तिनमा
निस्के भने स्वार्थका यज्ञ छेडेर
कसकसलाई खरानी बनाउने हुन्,
तिनका खरानीका प्रतिरापमा थाहा छैन
म आफैँ पनि जल्नसक्छु
तिमीलाई पनि जलाउन सक्छु ।
पङ्क्तिहरूमा छ तिक्तता पनि,
समुद्र मन्थनका नागको विष वमनजस्तै
कदाचित मेरा कविताहरूले
विषविम्ब बोकेर
हरेकका पाइलाको लक्षणामा भएका
अभिघातका विश्लेषण गरे भने
न तिम्रा पाइला बाँकी रहनेछन्
न मेरै पाइला बाँकी रहने छन् ।
कस्तो दिनमा आइपुगेँ यो
म आफ्नै कविताहरूसित डराएको छु
तिमीलाई नष्ट नगरून् तिनले,
त्यसपछि तिम्राहरूले गर्ने
आक्रमण कल्पेर पनि डराएको छु ।
लेखिएका कविताले बोलिसके
तिनका ह्याउ नापिसकेको छु
यी नलेखिएका कवितामा
पानी समातेर सङ्कल्प लिएँ भने
हामी को कहाँ हुनेछौँ
न तिमीलाई थाहा छ, न मलाई ।
बरु उजेलो बचाइराख्न र
भोलिको गन्तव्य निश्चित गर्न
कवितालाई श्वास बनाएर
व्यञ्जनालाई मूल धारमा राखेर
तिमी पनि आऊ,
हामी मिलेर, गर्भस्थ र
नलेखिएका कविताको रक्षा गरौँ ।
के तिमीसित पनि
भोलिका सपना सजाउने
केही थान नलेखिएका कविता छन् ?
सातदोबाटो, ललितपुर ।