• २१ वैशाख २०८३, सोमबार

स्याङ्जा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, वैशाख २१ गते । पुतलीबजार नगरपालिका–१ मा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजना गरेको कृति लोकार्पण, स्रष्टा सम्मान तथा स्याङ्जा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान गरिएको छ । 

स्व. शिवकुमार अधिकारीको ८६ औँ जन्मजयन्तीको सन्दर्भमा आयोजित कार्यक्रममा स्याङ्जाली गायक, रचनाकार तथा सङ्गीतकार लोकनाथ सापकोटालाई पहिलो पटक मणि लोकसाहित्य पुरस्कार, पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीलाई रजस्थल युवा प्रतिभा पुरस्कारले सम्मान गरिएको हो । 

आँधीखोला–६, फापरथुममा जन्मनुभएका सापकोटालाई लोकगायन क्षेत्रमा पु¥याउनुभएको योगदानस्वरूप चूडामणि ढकालले स्थापना गरेको मणि लोकसाहित्य पुरस्कारबाट सम्मान गरिएको हो । सापकोटाले पन्चैबाजाको वसन्ती..., म तिम्रै राजेश हमाल..., मुग्लान फिल्मको दशैँ आयो..., आई लभ स्याङ्जा जस्ता... मायापिरतीका गीत गाउनुभएको छ । सापकोटाले दर्जनौँ राष्ट्रप्रेम र फिल्मका गीतमा सङ्गीतसमेत भर्नुभएको छ । उहाँ रचनाकार पनि हुनुहुन्छ ।

यसै गरी वालिङ–३, माझकोटका वियोगीलाई साहित्य प्रतिष्ठानले त्रैमासिक साहित्यिक पत्रिका रजस्थलको श्रीवृद्धिका लागि पु¥याएको योगदानस्वरूप युवा प्रतिभाद्वारा सम्मान गरिएको हो । सत्यम् कथा प्रकाशनमा ल्याउनुभएका वियोगीले २०७६ सालमा राष्ट्रिय कथा प्रतियोगितामा दोस्रो र २०७८ को राष्ट्रिय निबन्ध प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्नुभएको थियो । 

यसै गरी अधिकारी परिवारले स्थापना गरेको रुक्मागत यशोदा रुबेली साहित्य पुरस्कारबाट पर्वत कुस्माकी सरस्वती शर्मा ‘जिज्ञासु’ सम्मानित हुनुभएको छ । सम्मानित तिनै जनालाई १५ हजार रुपियाँसहित दोसल्ला ओढाएर सम्मानपत्रले अग्रज साहित्यकार सरुभक्तले सम्मान गर्नुभएको हो । 

सो कार्यक्रममा शिवकुमार अधिकारीद्वारा लिखित ‘शिवकुमार अधिकारीका कविता’ मरणोप्रान्त प्रकाशनमा ल्याइएको छ । शिवकुमार प्रतिष्ठानले प्रकाशनमा ल्याएको कवितासङ्ग्रहमा पहिलो खण्डमा २९ कविता, दोस्रो खण्डमा शीर्षक थाहा नभएको खण्डकाव्यको उपलब्ध रचना तथा खण्ड तीनमा शीर्षक थाहा नभएको र आंशिक रूपमा नष्ट भएको खण्डकाव्यको उपलब्ध पाण्डुलिपि रहेको छ । 

सो कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारी, चिन्तु गिरी, शम्भु अर्याल, टीकाराम वाग्ले, लक्ष्मी काफ्ले, लीलाम्बर ढुङ्गाना, कुमार राना, ढालबहादुर केसी, अनन्त अर्याल, परिश्वर न्यौपाने, मुनाल गोदार, बोधराज ढकाल, सुबोधकुमार अधिकारी, धु्रव शर्मा पङ्गेनीलगायतले कविता, गजल, हाइकु प्रस्तुत गर्नुभएको थियो ।