रमेश विश्वकर्मा
गुल्मी, वैशाख २१ गते। गुल्मीको छत्रकोट गाउँपालिकाले सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गर्दैछ। अत्याधुनिक प्रशासनिक भवन निर्माणको सम्पूर्ण कार्य पूरा गरी आजदेखि सेवा प्रदान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो।
सभाहलका लागि निर्माण गरिएको भवनबाट सेवा प्रवाह गर्दै आएको यस गाउँपालिकाले एक सूचना जारी गरी वडा नम्बर–३, भेंडुवामा रहेको नवनिर्मित भवनबाट सेवा दिन लागेको हो। यस प्रशासनिक भवनमा आवश्यक प्रशासनिक सुविधा, कार्यकक्ष, बैठक कक्ष र नागरिक सहायता सेवा कक्ष समेटिएको छ। भवन आवासबाहेक प्रशासनिक कामका लागि ३२ कोठा, बैठक कक्ष, सङ्ग्राहलयसहित चार तलाको बनाइएको हो।
भवनमा अशक्त र वृद्ध–वृद्धालाई सजिलो होस् भनेर लिफ्टको पनि व्यवस्था गरिएको छ। सङ्घीय सरकार र छत्रकोट गाउँपालिकाको संयुक्त बजेटमा प्रशासनिक भवन निर्माण गरिएको हो। नौं करोड १० लाख ९९ हजार ४३५ रुपियाँ १२ पैसा रहेको सो प्रशासनिक भवनको निर्माण गरिएको हो। भवन निर्माणका लागि २०८० माघ १७ गते शिलान्यास गर्नुका साथै गाउँपालिकाले अम्बे माँ बलदेभव जे.भि. भरतपुर–९, चितवनसँग २०८० मङ्सिर ८ गते सम्झौता गरेको थियो।
जग्गा प्राप्तिको कठिन प्रक्रिया पूरा गरी सामुदायिक बनको जग्गामा यस गाउँपालिकाले अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेको हो। लामो मेहनतपछि छत्रकोट गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन बनेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनुभयो। अब सेवा प्रवाहमा सहजता र कार्यक्षमतामा सुधार आउने उहाँको भनाइ छ। भवनले चर्चेको जग्गाको कुल क्षेत्रफल १९ रोपनी आठ आना मध्ये ५ रोपनी क्षेत्रफलमा भवन निर्माण गरिएको हो।