केशवराज भट्ट
वासुलिङ (बैतडी), वैशाख २१ गते । आइतबार दिउँसो पानीसँगै आएको हावाहुरीले बैतडीका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । जिल्लाका विद्यालय, वडा कार्यालय, निजी घर, पसल तथा विद्युत् र सञ्चार संरचनामा क्षति पुगेपछि जनजीवन प्रभावित बनेको छ ।
दोगडाकेदार गाउँपालिका–३ कपडास्थित जसलिङ आधारभूत विद्यालयको जस्तापाताले छाएको भवनको छानो हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । छानो उडेसँगै विद्यालयभित्र रहेका शैक्षिक सामग्रीमा समेत क्षति पुगेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त कपाडीका अनुसार छानो क्षतिग्रस्त भएपछि पठनपाठन सञ्चालनमा समस्या उत्पन्न भएको छ ।
सोही गाउँपालिका–८ कालागाउँस्थित वडा कार्यालय भवनको छानोसमेत हावाहुरीले उडाएको छ । स्थानीय नरेश बिष्टका अनुसार छानो उड्दा कार्यालयभित्र रहेका कागजात तथा सामग्रीमा क्षति पुगेको छ । महत्वपूर्ण कागजात स्थानीयवासीको सहयोगमा सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो । तीन कोठे उक्त भवन क्षतिग्रस्त बनेपछि सेवा प्रवाह प्रभावित हुने देखिएको छ ।
यस्तै, सिगास गाउँपालिका–१ मा हरि भट्टको पसलको छानो उड्दा पसलभित्रका सामग्रीमा क्षति पुगेको छ । पाटन नगरपालिका–७ उपल्ला बाटुलामा गजेन्द्र चन्दको घर तथा गोठमा लगाइएको जस्तापाताको छानो उड्दा थप क्षति भएको छ ।
मेलौली नगरपालिका क्षेत्रमा पनि हावाहुरीको प्रभाव देखिएको छ । वडा नं. ९ मा रहेको नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ भने वडा नं. २ सलेनामा हरि दमाई, दानबहादुर चन्द र नरबहादुर चन्दका घर तथा पसलका छाना उडाएको छ । साथै, सोही स्थानस्थित धर्मघर माध्यमिक विद्यालय भवनको छानोसमेत हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।
हावाहुरीका कारण शिवनाथ गाउँपालिका–१ कुस्मौतघाटस्थित सशस्त्र प्रहरी बलको बीओपी भवनमा पनि क्षति पुगेको छ । सशस्त्र प्रहरीका जवान बस्ने ब्यारेकको छानो उड्दा संरचना आंशिक रूपमा क्षतिग्रस्त भएको जनाइएको छ ।
यसैबीच, हावाहुरीले विद्युत् संरचनामा समेत असर पु¥याएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार डडेल्धुरा र बलाँच क्षेत्र हुँदै गएको ३३ केभी प्रसारण लाइनमा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध भएको छ । अवरुद्ध सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटिएको र क्षतिको विवरण सङ्कलन भइरहेको वितरण केन्द्रले जनाएको छ ।
हावाहुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन कार्य जारी रहेको छ । स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायले प्रभावित संरचनाको मर्मत तथा सेवा पुनःस्थापनाका लागि पहल गरिरहेका छन् ।