• १३ मंसिर २०८१, बिहिबार

पुरानो मेसिनले ‘टक्सार’लाई समस्या

blog

काठमाडौँ, चैत १५ गते । नेपाल राष्ट्र बैङ्कअन्तर्गतको टक्सार महाशाखाबाट उत्पादन हुने तक्मा, चाँदीको मेडालियन/स्मारिका सिक्कामा उपभोक्ताको आकर्षण बढे पनि नयाँ मेसिन जडान गर्न नसक्दा समस्या हुन थालेको छ । तक्मा र असर्फी बनाउने मेसिन आठ दशकभन्दा पुराना भइसकेको र नयाँ जनशक्ति पनि थप गर्न नसक्दा बारम्बार समस्या आउने गरेको यस्तो समस्या रहेको महाशाखाले जनाएको छ । 

नयाँ मेसिन र जनशक्तिको अभावमा बजारमा चलनचल्तीको एक र दुई रुपियाँका सिक्का निस्कन छाडेको वर्षौं भइसकेको महाशाखाले जनाएको छ । अहिले राष्ट्र बैङ्कले एक र दुई रुपियाँको सिक्का टङ्कन गर्न विश्वव्यापी बोलपत्रमार्फत तेस्रो मुलुकमा पठाउँदै आएको छ ।  यसका लागि राष्ट्र बैङ्कले निकै ठूलो मूल्य तिर्दै आएको छ । चलनचल्तीका एक रुपियाँको सिक्का टङ्कन मूल्य दुई रुपियाँ ४० पैसा पर्ने र दुई रुपियाँको सिक्का टङ्कनको मूल्य दुई रुपियाँ ७३ पैसासम्म पर्ने गरेको छ । यसमा यातायातको खर्च छुट्टै हुने राष्ट्र बैङ्कले जनाएको छ । 

टक्सारका महाशाखाका प्रमुख सत्येन्द्रराज सुवेदीका अनुसार विगतमा नेपालबाटै सिक्का उत्पादन हुँदै आएको भए पनि अहिले सिक्का उत्पादन गर्ने  मेसिनको डाई निडल छैन । यस्तो निडल उपलब्ध गराउने कम्पनी थोरै हुँदा धेरै मूल्य तिर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “अति पुराना मेसिनरी सामानमा पटक पटक समस्या देखिने गरेको छ । खोजेको समयमा पार्टपुर्जा नै पाइँदैन,” उहाँले भन्नुभयो ।   

अहिले पुराना मेसिनमा अभ्यस्त भएका अवकाश प्राप्त गरिसकेका जनशक्तिबाट नै महाशाखाले काम लिइरहेको छ । बैङ्क आफैँले टङ्कन मेसिन प्रयोग गर्न जान्ने जनशक्ति पाउन सकेको छैन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट अन्य मेसिनरी चलाउने सीप सिकेका जनशक्तिलाई लिएर यहीँबाट तालिम दिने योजना महाशाखाको छ । त्यस्ता जनशक्तिको वृत्ति विकास के कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि राष्ट्र बैङ्कमा छलफल भएको छ । “समयमा नै आधुनिक मेसिन र जनशक्ति भिœयाउन सकिए टक्सारले बजारमा बनाएको छाप र विश्वास कायम रहन सक्नेछ,” सुवदीले भन्नुभयो । 

 तेस्रो मुलुकमा टङ्कन हुँदै आएको मुद्राको बिक्रीवितरण भने यही महाशाखाले गर्दै आएको छ । एक र दुई रुपियाँको सिक्काको मूल्य बजारमा निकै कम भए पनि केही ठूला डिपार्टमेन्ट स्टोर र धार्मिक प्रयोजनका लागि लैजाने गरिएको छ । विशेष गरी तुलादानजस्तो प्रयोजनका लागि सिक्काको माग बढेको प्रमुख सुवेदी बताउनुहुन्छ । “अहिले एक र दुई रुपियाँको सिक्काको मौज्दात प्रशस्त छ । सिक्का पाइँदैन भन्नुपर्दैन,” उहाँ भन्नुहुन्छ । 

मुद्रालाई अभौतिकीकरण गर्दै जाने राष्ट्र बैङ्कको योजना रहे पनि अहिलेको परिवेशमा सिक्काको माग कम भइहाल्ने नदेखिएको प्रमुख सुवेदीले बताउनुभयो । “त्यसैले हामी पाँच वा १० रुपियाँको पनि कमोमरेट सिक्का बनाउने भन्ने विषयमा छलफल गरिरहेका छौँ । त्यसका लागि नयाँ मेसिन र प्रविधि भिœयाउने विषयमा छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।  

छुट्टै कार्यालयका रूपमा रहँदै आएको टक्सार २०४१ सालमा नेपाल राष्ट्र बैङ्क मातहतमा राखिएको थियो । यसले देशको आवश्यकताअनुसार चलनचल्तीका सिक्का, सुन र चाँदीका असर्फीहरू उत्पादन गर्दै आएको छ । २०७२ सालको भूकम्पका कारण सुन्धारामा रहेको टक्सारको भवनमा क्षति भएपछि त्यसको पुनः निर्माण हुन सकेको थिएन । सुन्धारामा रहेको टक्सारलाई त्यहाँबाट हटाएर अहिले बबरमहलमा स्थापना गरिएको छ ।