• १० पुस २०८१, बुधबार

बन्ने भयो सत्रुधन सदाको घर

blog

धनुषाको पचहर्वास्थित सदा परिवारको पहिलाको बस्ने छाप्रो । तस्बिरः विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, चैत १३ गते । गरिबीका कारण विगत आठ वर्षदेखि प्लाष्टिकको छाप्रोमा बस्दै आउनुभएका सत्रुधन सदाको घर बन्ने भएको छ । धनुषाको शहीद नगर नगरपालिका –५ पचहर्वाका सदा गरिबीका कारण विगत आठ वर्षदेखि श्रीमती र चार जना लालाबालासहित प्लाष्टिकको छाप्रोमा कष्टकर जीवन बिताइरहनु भएको थियो । 

प्रदेश सभा सदस्य रामअशिष यादव, मधेश प्रदेशका मुख्य न्यायधीवक्ता वीरेन्द्र ठाकुर, समाजसेवी पुरुषोत्तम कर्माचार्य, युवा नेता शीतल साह र स्थानीयवासीले मिलेर सदा परिवारका लागि घर बनाउन लाग्नुभएको हो । उहाँहरूले घर बनाउन सुरु गरिसक्नु भएको छ । 

प्रदेश सभा सदस्य यादवले समाज रूपान्तरणको अभियानअन्तर्गत आफूले पाउने मासिक तलब र साथी तथा स्थानीयको आर्थिक सहयोगमा सदा परिवारका लागि घर बनाउन लागेको बताउनुभयो । सदा परिवारले छाप्रो हालेर बसेकै ठाउँमा इँटाको घर बनाइदिने उहाँले जानकारी दिनुभयो । 

सदा परिवारको बारे केही महिनाअघि यस गोरखापत्र दैनिकमा ‘गरिबीका कारण सदा परिवारको बिजोग’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । 

आर्थिक कमजोरीका कारण बस्नका लागि राम्रो घरसमेत बनाउन नसक्दा विगत आठ वर्षदेखि प्लाष्टिकले घेराबेरा गरिएको  छाप्रोमा सपरिवार बस्दै आएको सदाले बताउनुभयो । 

गाउँघरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सत्रुधनको परिवारका सदस्यले पेटभर खान नपाएको बर्सौँ भइसकेको छ । आङ छोप्न लत्ताकपडाको पनि उस्तै समस्या छ । 

मुसहर बस्तीमा ऐलानी दुई धुर जमिनमा छाप्रो बनाएर बस्दै आउनुभएका सत्रुधनले कृषि मजदुरीबाट भएका आम्दानीले परिवारको आवश्यकता पुरा गर्दै आउनु भएको छ।


धनुषाको पचहर्वास्थित सत्रुधन सदा परिवारका लागि घर बनाउन भूमि पुजन गर्नुहुँदै प्रदेश सभा सदस्य रामअशिष यादव । तस्बिर: विजयकुमार साह