शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म तीस वर्षअघि
फर्कन चाहन्छु
र फेरि सुरुवातबाटै
सम्बन्धलाई नयाँ आयाममा
डो¥याउन चाहन्छु
त्यसबेला भन्न छुटेका
ती सबै कुरा
हरफ हरफ मिलाएर
भन्न चाहन्छु
नहेरेजस्तो गरेर चोरीचोरी हेर्दा
धितामरेका तिम्रा नसालु
नयनलाई
बिस्तारै अधरले स्पर्श गर्न
चाहन्छु तिम्रो हात समाएर
सुकिला पेटीमा दिनभरि नै
डुल्न मन छ
नयाँ धरहराको टुप्पोमा उभिएर
तिम्रा काँधबाट चिहाउँदै
रानीपोखरीलाई हेर्ने रहर छ
तिम्रो ओठमा लतपतिएको
लिपिस्टिक
आफ्नो रुमाल झिकेर
मिलाइदिने इच्छा छ
तिम्रो चुल्ठोमा नयाँ क्लिप सिउरेर
तिमीलाई चिटिक्क पार्ने मनसा छ
सबैभन्दा ठूलो रहर
म तीस वर्षअघि फर्कन पाए
अभाव र गरिबीमा पूरा गर्न
छुटेका
तिम्रो एकएक सङ्कल्पहरू
पूरा गरिदिने थिएँ र
सोध्ने थिएँ–भन प्रिय ।
तिम्रा खुसी रसाउने मुहानमा
अब कुन मायालु सपनाको
कुलो बगाइदिऊँ ।