• १६ चैत २०८०, शुक्रबार

अर्को लोकबाट

blog

चाहिन्न,

अब केही चाहिन्न ।

चाहिन्न,

तिमीले घर बनाउन दिएको

जमिनको लालपुर्जा चाहिन्न, 

बालुवा–सिमेन्ट चाहिन्न

झ्याल–ढोकाका खापा पनि चाहिन्न

मलाई कोठाको पर्खाल लगाउनु छैन

कतै छेकबार गर्नु छैन

जस्तापाता, ढुङ्गा–इँटा केही केही नै चाहिन्न ।

चाहिन्न,

अब केही चाहिन्न ।


कति रङ्गीन थियो वातावरण 

फक्रक्क फक्रेको फूलजस्तो !

बिहानै उठ्दा

झलल चम्किएको 

कति कञ्चन थियो हिमाल !

अब त्यो हिमाल चाहिन्न

गुराँस चाहिन्न

लालुपाते चाहिन्न 

नदीनाला, पहाड केही केही पनि चाहिन्न,

चाहिन्न,

अब केही चाहिन्न ।

 

देशको नाम राख्न भनेर दिएको 

चन्द्र–सूर्य अङ्कित झण्डा

त्यो पनि चाहिन्न,

त्यो घाम चाहिन्न

जून चाहिन्न

शुक्रतारा-ध्रुवतारा चाहिन्न

म चरा भएको छु अहिले, स्वतन्त्र !

चाहिन्न

अब केही चाहिन्न ।


नपल्टाऊ पुरानो एल्बमका पानाहरू

नसम्झाऊ माया–प्रीतिको गीत

मुक्त !

एकदमै मुक्त छु तिम्रो मोहको बाहुपासबाट

अब

तिमी भएर बहने हावा चाहिन्न

तिमी नै भएर बग्ने पानी चाहिन्न ।

चाहिन्न,

अब केही चाहिन्न ।

चाहिन्न... चाहिन्न...

तिमीले बाँच भनेर दिएको

श्वास–प्रश्वास अब साँच्चै चाहिन्न ।