गुलियो चुसिसकेको चुइङ्गमजस्तो जिन्दगी
भुइँमा फाले पनि फेरि टाँसिएर बस्छ खुट्टाहरूमा
र, हिँड्न गाह्यो बनाइजान्छ– जिन्दगी
कोलमा पिसिएको ऊखुको खोस्टा जस्तो जिन्दगी
अझै रस निस्किन्छ कि भनी कोलको पेलाइ सहिदिन्छ
र आफ्नै अनुहारभरी झिँगा पाली बस्छ– जिन्दगी
टेक्चीमा खाँदेर सुकाएको सिन्की जस्तो जिन्दगी
दुईचार हप्ता बेसी राखे बस्ती नै गन्हाइजाने
अमिलो ढुसी परेको– मूला जिन्दगी
कुनै हाट बजारको धनियाँजस्तो जिन्दगी
आफ्नो खुदको मूल्य छैन
र पनि सित्तैँमा तरकारीको महँगाइ बढाइदिन्छ–
साला जिन्दगी
चौतारीको बरको रुखजस्तो जिन्दगी
आउने जाने बटुवाको भोक, प्यास र
थकाइको साँची बाहेक
खासै कुनै अर्थ छैन– जिन्दगी
भिटेनको कानमा सिउरिएको
बिजुली चुरोटको खिल्लीजस्तो
जिन्दगी
हरएक घण्टामा तलतल नलागुन्जेलको आयु बाँचेको छ–
साला जिन्दगी
मलामीले फालेको टिला जस्तो– जिन्दगी
आफँैले कमाएको मूल्यको
बहिखाता हेर्न नपाई मरेको
मान्छेको नियति हो– जिन्दगी
म जिन्दगीलाई जिन्दगी नै सम्झेर
बाँच्न खोज्छु
साला जिन्दगी कहिले धनियाँ बनेर
डुल्छ बजारमा
कहिले चुङ्गम बनेर टाँसिन्छ खुट्टाहरूमा
कहिले चुरोटको खिल्ली बन्छ र
उडी जान्छ हावाहरूमा ।
मलाई जिन्दगी जिन्दगी नै सम्झेर
जिन्दगीभरि जिउन मन थियो
जिन्दगी स्वयं समयलाई नै पत्तो नदिएर
डेक्चीमा खाँदिएर ह्वाङह्वाङति गन्हाइरहेको
साला जिन्दगी ।