• १३ वैशाख २०८१, बिहिबार

हाम्रो सम्पदा

नवलपरासीमा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति

blog

नवलपरासी, चैत ११ गते । जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ रमवापुरमा स्थित कृष्णधाममा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति स्थापना गरिएको छ । काठमाडाैँबाट पूर्व पश्चिम राजमार्ग हुँदै बुटवल जाँदा करिब २४२ किलोमिटरको दुरी अर्थात् पूर्वपश्चिम राजमार्ग नजिकै दाहिने तर्फ रहेको यो कृष्णधाममा ७१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।

कृष्ण भगवान् २ वर्षको उमेरमा चकचके भएर ग्वालाहरूलाई दु:ख दिँदा, ग्वालाहरूले कृष्ण भगवानलाई डोरीले बाँध्न खोज्दा जति बाँधे पनि कृष्ण भगवान् दामोदर स्वरूप झनझन मोटो हुँदै जाने भएकोले ग्वालाहरूले बाँध्न नसकेर, ती ग्वालाहरूले कृष्ण भगवानको आमा यशोधरालाई बाँध्न भनेका थिए । आमाले कृष्ण भगवानलाई डोरीले बाधेकी थिइन यो कथामा उल्लेख छ । 

यस मूर्तिको विशेषता भनेको कृष्ण भगवानलाई डोरीले बाँधिएको छ। जब कि कृष्ण भगवानको अन्य मूर्तिहरूमा हातमा बाँसुरी लिएको देखिन्छ भने, यस मूर्तिमा कृष्ण भगवानको हातमा बाँसुरी छैन। त्यति बेला कृष्ण भगवान् बालक नै भएको हुँदा उनले बाँसुरी बजाएका थिएनन्।

करिब २ बिगाहा क्षेत्रफलमा फैलिएको कृष्णधाम निकै नै आकर्षक रहेको छ । यस धाम पार्क, बगैँचाले सजिएको छ भने अन्य देवदेवताहरुको मन्दिर, मूर्ति समेत रहेका छन्। यस धाममा विवाह, व्रतबन्ध, धार्मिक कार्य लगायत विभिन्न कार्य गर्नको लागि सुविधा सम्पन्न रहेको छ। यही धामको पश्चिमतर्फ पौराणिक कालको दामोदर कुण्ड समेत रहेको छ।

वि.सं. २०७३ सालमा निर्माण कार्य सुरु गरी २०७६ सालमा सम्पन्न भएको मूर्ति एक करोड ४० लाख लागतमा निर्माण भएको जनाइएको छ ।