वसन्त पराजुली
खोरसोर (सौराहा), चैत ११ गते । साढे तीन वर्षअघि सौराहास्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएर हुर्किएको छावा गोपालगजलाई दिइएको तालिम सकिएको छ। गोपालगजलाई तीनमहिने तालिम लिई अब निकुञ्जमा पोस्टिङका लागि तयारी अवस्थामा राखिएको छ। गोपालगज जन्मिनेबित्तिकै माउ हिमालीकलीले दूध नदिएपछि पाउडर दूध खुवाएर हुर्काएको छावा भएको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिनुभयो।
“गोपालगज अहिले भर्खरै तालिम सम्पन्न गरेर निकुञ्जमा पोस्टिङका लागि तयारी अवस्थामा रहेको छावा हो। आमा हिमालीकलीले यसलाई जन्माएपछि दूध नदिएर पाउडर दूध नै खुवाएर हुर्काएको हो,” प्रमुख महतोले गोरखापत्रसँग भन्नुभयो, “हिमालीकलीले गत वर्षको माघ १७ मा दोस्रो बच्चा भद्रगजलाई जन्म दिई त्यसलाई पनि दूध नदिएपछि पाउडर दूध नै दिएर हुर्काइएको छ।” एक वर्ष उमेर पार गर्दै गरेको भद्रगज अहिले प्रजनन केन्द्रमै लुटुपुटु गर्दै खेल्दै रहेको भेटिन्छ।
“दूध कट्टा नै भए पनि गोपालगज र भद्रगज स्वस्थ र बलिया छन्। उनीहरूलाई हामीले आवश्यकताअनुसार खानेकुरा खुवाएका छौँ,” प्रमुख महतोले भन्नुभयो।
उसो त फागुन २४ मा गण्डकीकली (ढोइ)को शल्यक्रिया गरेर जन्माइएको छावा (भर्खरै न्वारन गरेर विजयगज नाम राखिएको)लाई पनि माउले स्तन चुसाउन नदिएपछि अहिले नियमित पाउडर दूध खुवाएर हुर्काइँदै छ। गण्डकीकलीको छावा उल्टो भएर नजन्मिएपछि चितवन राष्ट्रिय निकुञ्जकै इतिहासमा पहिलो पटक शल्यक्रिया गरेर बच्चा जन्माइएको हो। बच्चा निकालिए पनि माउले दूध नदिएपछि उसलाई बचाउन पाउडर दूध दिनु परेको हो।
“माउले दूध नदिएपछि अहिले दुई/दुई घण्टाको फरकमा सय ग्राम पाउडर दूधमा एक लिटर पानी घोलेर छावालाई दिइएको छ,” प्रमुख महतोले भन्नुभयो, “यो क्रम छ महिनासम्म रहन्छ। छावाले ठोस पदार्थ खान थालेपछि त्यसलाई विस्तारै दूधको मात्रा घटाउँदै घाँस तथा भेली, परालहरूमा जोड दिइन्छ।”
छावालाई दूध खुवाउन जति जटिल छ, त्योभन्दा बढी माउ थुनेलो हुने हो कि भन्ने चिन्ता प्रजनन केन्द्रमा छ। प्रमुख महतो भन्नुहुन्छ, “हामीले माउलाई थुनेलो हुन्छ कि भनेर नियमित कल्चाैँडो पनि सफा गरेर दूध दुहुँदै अलि–अलि आएमा फाल्दै पनि गरेका छौँ।”
निकुञ्जमा मातृविहीन अवस्थामा भेटिएका बाघ, गैँडा, चितुवालगायतका जनावरलाई पनि यसरी नै पाउडर दूध खुवाएर हुर्काइन्छ। निकुञ्जका टुहुरा वन्यजन्तुलाई आवश्यक पर्ने पाउडर दूधको खर्च व्यवस्था गर्दै आएको प्रकृति संरक्षण कोष, सौराहाका प्रमुख डा. बाबुराम लामिछाने अहिलेसम्म निकुञ्जमा १२ वटा गैँडा, दुई–दुईवटा बाघ र चितुवाका बच्चालाई पनि दूध नै दिएर हुर्काएको जानकारी दिनुहुन्छ।
“अहिले पनि सौराहामा दुई र मेघौलीमा एक गरी तीनवटा गैँडाका बच्चा हुर्काइँदै छ,” प्रमुख डा. लामिछानेले भन्नुभयो, “हात्ती, गैँडा, बाघ वा चितुवा जुनसुकै भए पनि एउटालाई ४० हजार रुपियाँ बराबरको पाउडर दूध आवश्यक हुन्छ।”
आमा कुनै पनि कारणले मरेमा वा त्यसले बच्चालाई अलपत्र अवस्थामा छाडेमा ऊ मातृविहीन हुन पुग्ने डा. लामिछानेको भनाइ छ। यसरी भेटिएका वन्यजन्तुका बच्चालाई ठूलो दूध दानी बनाएर खुवाउने गरिन्छ।
“अहिले भेटिएका तीनवटामध्ये एउटालाई पोखरीमा आहाल खेलिरहेका बेला भेटिएको हो भने एउटा घाँसे मैदानमा र अर्को घाइते अवस्थामा भेटिएको हो,” हुर्कंदै गरेका गैँडाका बच्चाका बारेमा उहाँले भन्नुभयो। यसरी वन्यजन्तु हुर्काउँदा निकुञ्ज र प्रकृति संरक्षण कोषका कर्मचारी आफैँ खट्छन्।
“एक डेढ वर्ष त आफ्नै सन्तानलाई जसरी माया गरेर पाल्नुपर्छ,” गैँडाको संरक्षण तथा लालनपालनमा खटिएका एक कर्मचारी भन्छन्। सुरु–सुरुमा दूध मात्रै दिए पनि बिस्तारै गैँडा, हात्तीलाई घाँस तथा अन्य दाना र बाघ, चितुवालाई मासु दिने गरिन्छ।
यसरी हुर्काइएका कतिपय वन्यजन्तुलाई जङ्गलमै छाडिएको छ भने कतिपय चिडिया घरहरूमा र कतिपय त विदेशमा उपहारसमेत दिइएका पाइन्छन्।
“सन् २००२ मा जापानलाई दिइएको एक जोडी गैँडामध्ये जङ्गे नामको एउटा गैँडा यसरी नै सानैमा माउबाट छुट्टिएर निकुञ्जका कर्मचारीले भेटेपछि हुर्काएकोमध्येकै हो,” प्रमुख लामिछानेले भन्नुभयो, “यसरी हुर्काइएका जनावर धेरैजसो प्राकृतिक रूपमै छाडिएका छन् भने कतिपयलाई चिडियाघरमा पनि लगिएको छ।”
यसरी जोखिम मोलेर पालिएका बाघ, गैँडा, चितुवाजस्ता हिंस्रक जनावर हुर्कंदै गर्दा त्यसबाट हुने सुरक्षा चुनौतीको पनि यहाँका कर्मचारीले कुनै प्रवाह गरेको देखिँदैन। विश्वमै दुर्लभ हुँदै गएका बाघ, गैँडा, चितुवा, हात्तीजस्ता जनावरका बच्चालाई उसको माउबिना पनि हुर्काएर बासस्थानमा फर्काउन सक्नु ठूलो उपलब्धिका रूपमा पनि लिने गरिन्छ।
विश्व वन्यजन्तु कोषका बाघ गैँडा विज्ञ रामप्रीत यादव भन्नुहुन्छ, “हिंस्रक जङ्गली जनावर हुर्काउनु आफैँमा चुनौती हो तर पनि त्यो चुनौती निकुञ्ज र प्रकृति संरक्षण केन्द्रका कर्मचारीले मोल्नु वन्यजन्तुप्रतिको माया र आत्मीयता हो।”