• २५ पुस २०८१, बिहिबार

अनलाइनको सङ्ख्या मात्रै बढ्यो: अध्यक्ष बस्नेत

blog

अभिमुखीकरण कार्यक्रममा सहभागी काउन्सिलका अध्यक्ष बस्नेत तथा वरिष्ठ पत्रकार डा. सुरेश आचार्य । तस्बिर : प्रेस काउन्सिल नेपाल

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत १० गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको सङ्ख्या मात्र बढेको तर विश्वसनीयता बढ्न नसकेको बताउनुभएको छ । पत्रकारिता बाहेकका पृष्ठभूमि र अध्ययनबाट अनलाइन दर्ताको बाढी देखिएकाले गुणस्तरीयता र विश्वसनीयतामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

प्रेस काउन्सिलबाट एक वर्षदेखि विभिन्न पृष्ठभूमिबाट आएका अनलाइन सञ्चालक र सम्पादकलाई नियमित अभिमुखीकरण कक्षा हुँदैआएको र यसलाई निरन्तरता दिने पनि उहाँले जानकारी दिनुभयो ।

शुक्रबार काउन्सिलमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिडियागतका अहिलेका समस्या समाधान गरेर पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सम्बद्ध सबै निकायको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । अभिमुखीकरणमा विज्ञका रूपमा सहभागी वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले पत्रकारितामा विश्वसनीयता जोगाउनु अहिलेको चुनौती रहेको बताउनुभयो । पत्रकार आचारसंहिताको पूर्णतः पालनाबाट मात्रै विश्वसनीयता कायम हुने उहाँको भनाइ छ । 

अनलाइनको अहिलेको प्रस्तुति हेर्दा पत्रकारितामा किन लाइसेन्सको व्यवस्था हुनु जरुरी छ भन्ने देखाएको छ, आचार्यले भन्नुभयो, “काउन्सिलले कम्तीमा यस्ता अभिमुखीकरण कक्षा सुरु गरेर स्वागतयोग्य काम गरेको छ ।” शुक्रबारको कक्षामा ३४ जना नयाँ अनलाइनका सञ्चालक र सम्पादक सहभागी थिए । 

एक वर्षमा ६ सय ७१ अनलाइनका सञ्चालक र सम्पादकले अभिमुखीकरण कक्षा लिएको काउन्सिलको भनाइ छ । शुक्रबारको २२ औँ शृङ्खलामा वरिष्ठ पत्रकार नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. आचार्य र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विषयगत विज्ञकारूपमा कक्षा लिनुभएको थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले गर्नुभएको थियो ।