• ७ वैशाख २०८१, शुक्रबार

जिन्दगीको यात्रा (कविता)

blog

प्रत्येक दिन एक एक, 

खुड्किलो चढ्दै जिन्दगीको

कहिले हतारै हतारमा

कहिले अल्छी हुँदै

फुर्सदिलो जस्तै ।

देखिने जेजस्तो भए पनि

चढिने त दिनको एक खुड्किलै न हो !

रमाइला समय छिट्टै सकिएजस्तो

दुःखका पलचैँ अडीअडी बसेजस्तो

कटी रहेछ मूल बाटो

के भन्नु र खै कस्तो कस्तो !

अगाडि क्यै देखिएको हो कि जस्तो

या भ्रम मात्रै छाएजस्तो,

तिता मीठा दुवैको मिश्रण 

तितो मिश्री (?) जस्तो !

कहिले यात्रामा साथ पाएजस्तो

कहिले फेरि पनि एक्लै हिँडेजस्तो

टाँक कस्सिए पनि अलग्गै जस्तो

छुट्टिँदा पनि सँगै रहेजस्तो

जिन्दगीको यात्रा,

एक, एक खुड्किलो चढेजस्तो,

कहिलेकेहीँ तर्पे हिँडेजस्तो,

कहिले उकाली ओराली गरेजस्तो

जसरी गए पनि पुग्ने ठाउँको 

लम्बाइ, छोटिएको, 

या 

जिन्दगी चोइटिँदै गएको जस्तो !

प्रत्येक पल अनुभव लिएको जस्तो

तर पनि अनुभवहीन भएकैजस्तो

बेलाबेलामा चोट खाएजस्तो

केही पाएजस्तो

केही गुमाएजस्तो

कहिले टुङ्गिने ठेगानै नभएको 

जिन्दगीको यात्रा खै कस्तो कस्तो !