डाँडा पाखा चउर सबमा छैन शोभा र कान्ति
नाङ्गो, फुस्रो, मलिन छ धरा छैन आभा र दीप्ति ।
छैनन् चिल्ला हरित मुजुरा छैन बाली झुलेको
आयो ठण्डा शिशिर ऋतुको काल छर्दै तुसारो ।।१
काँप्छन् औँला थरथर गरी शीत वर्षन्छ साँझ
बिझ्छन् काँडा हृदयतलमा शूल बल्झेर माझ ।
स्याँस्या फूफू गरिकन यहाँ चल्दछन् जिन्दगानी
चम्क्यो जाडो अवनितलमा छैन केही जवानी ।।२
हाँसो छैनन् वदनहरूमा वृक्ष छन् पातहीन
माटो बाँझोसरि छ किन हो सिर्जना फक्रिँदैन।
छैनन् केही पनि मधुरिमा स्पष्ट देखिन्न दृष्टि
सिम्सिम् गर्दै कतिदिन अहो ! झर्छ यो शीतवृष्टि ।।३
कालो–फुस्रो गगनतहमा छैन केही खुलेको
हो कि क्या हो सगर दिलमा एक फूलो परेको ।
धुम्मेका छन् हिमशिखर ती मेघका खोल ओढी
चीसो ठाँटो बरफकणले व्याप्त देखिन्छ धर्ती ।।४
बाक्लो हुस्सू वरपर हिमाच्छन्न डाँडा र पाखा
फुस्रा मैला घर–चउर छन् शान–शोभा गुमेका ।
मैलो धर्ती मलिन छ छटा छैन छाया शरद्को
कस्तो आयो विरस ऋतु यो छैन केही सजेको ।।५
कान्छो भ्राता तर छ ऋतुमा यो छ ज्यादै कराल
यस्को पीडा सहन नसके हुन्छ है देहपात ।
न्यानो राखौँ जसतसरि होस् गाथलाई सदैव
डाकौँ हामी सबजन मिली शीघ्र आओस् वसन्त ।।६
थापाथली, काठमाडौँ