• १५ वैशाख २०८१, शनिबार

कर्णालीमा स्ववियु निर्वाचन: ३५ क्याम्पसको नतिजा सार्वजनिक चार वटामा स्थगित

blog

नवीन सुबेदी

सुर्खेत, चैत ८ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतबार भएको निर्वाचनमा कर्णाली प्रदेशका ३९ क्याम्पसमध्ये ३५ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

जसमा १८ क्याम्पसमा निर्वाचनबाट स्ववियु नेतृत्व चयन भएको छ भने १७ क्याम्पसमा निर्विरोध पदाधिकारी चयन भएको हो । कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ३८ वटा आङ्गिक क्याम्पस र १ विश्वविद्यालय रहेका छन् । जसमा मध्यपश्चिम विश्वविद्यालयका ३ वटा आङ्गिक क्याम्पस लुम्बिनी प्रदेशमा रहेका छन्।  

सार्वजनिक भएको नतिजा अनुसार कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले वर्चस्व जमाएको छ । अखिल  क्रान्तिकारीले १६ वटा क्याम्पसमा जित हात पारेको छ । यस्तै, काङ्ग्रेसनिकट नेविसंघले १२ स्थानमा जित हासिल गर्दा एमालेनिकट अनेरास्ववियुले ६ क्याम्पसमा जित हासिल गरेको छ । एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यस्तै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित ४ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ । एमयुमा मतदानबाट वञ्चित गराएको भन्दै उच्च अदालतमा मुद्दा परेपछि चुनाव रोकिएको हो । यस्तै, एमयुकै आङ्गिक क्याम्पसहरू नारायण बहुमुखी क्याम्पस दैलेख र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिममा स्ववियु निर्वाचन हुन नसकेको हो । यी क्याम्पसमा विद्यार्थी सङ्गठनबिच विवाद भएको छ । यस्तै, त्रिविअन्तर्गतको दैलेखको कोट देवल क्याम्पस अवलपराजुलमा पनि निर्वाचन हुन सकेको छैन । क्याम्पस प्रशासनका अनुसार निर्वाचनका लागि कुनै पनि विद्यार्थी सङ्गठनले सङ्गठन दर्ता गराएका छैनन् ।