• १२ साउन २०८१, शनिबार

नेपाली संस्कृति हराएकोप्रति संस्कृति मन्त्रीको चिन्ता

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृति मन्त्री सुदन किराती। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत ७ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले विदेशी संस्कार, संस्कृतिले नेपाली मौलिक संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। 

सर्लाहीको हरिवनमा मङ्गलबार नेपाल आदिवासी जनजाति युवा महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किरातीले हाम्रा संस्कार, संस्कृति विदेशीको जस्तै हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो। उहाँले अनेक संस्कार र संस्कृति भएको हाम्रो समाजले यसरी विदेशी संस्कार रोज्दा इतिहास नै मेटिने खतरा रहेको उल्लेख गर्नुभयो। 

पर्यटनमन्त्री किरातीले नेपाली पुराना खानाका परिकार लोप हुँदै गएकोप्रति पनि चिन्ता व्यक्त गर्नुभयो। “हाम्रा बुवा, आमाले सानैमा आलु तारेर दिनुहुन्थ्यो, त्यतिबेला तारेको आलु भन्थ्यौँ, अहिले फ्रेन्च फ्राइज भन्छन्। हामीले चाम्रे त पहिलेदेखि नै खाएको हो, अहिले फ्राइ राइस भन्न थालियो,” पर्यटन मन्त्री किरातीले भन्नुभयो, “हामीले यसरी विदेशी संस्कृति र खानपानलाई नक्कल गर्ने होइन। हाम्रै संस्कारमा जिउनुपर्छ, अनिमात्रै हाम्रो पहिचान रहन्छ।” 

मन्त्री किरातीले मङ्गलबार नै हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा निर्वाचित नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका पदाधिकारीलाई बधाई दिनुभएको छ। आयोजित कार्यक्रम, बागमतीमा कार्यकर्ता भेलालगायतका कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ। मन्त्री किरातीले उद्घाटन गर्नुभएको नेपाल आदिवासी जनजाति युवा महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलन बुधबारसम्म चल्नेछ।