• १२ मंसिर २०८१, बुधबार

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

blog

अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान गर्दै ।

अर्जुन काफ्ले 

स्याङ्जा, चैत ७ गते । ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज स्याङ्जाले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ । जातीय मुक्ति समाज स्याङ्जाले जिल्लाभरिबाट ७७ अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको हो । 

एक सय जोडिलाई सम्मान गर्ने तयारी भएपनि केही थोरै जोडिलाई मात्रै सम्मान गरिएको समाजका अध्यक्ष मेघ प्रनेशले बताउनुभयो । सम्मानित सबै जोडिलाई सम्मान पत्र र मुक्ति समाज अङ्कित खादाले सम्मान गरिएको थियो । 

सम्मानमा नेकपा एमाले केन्द्रीय कमिटी सचिव पद्मा अर्यालले कानुनी रूपमा जातीय विभेद गर्नु अपराध भएपनि अझै समाजमा कायमै रहेको बताउनुभयो । उहाँले संविधानमा जातीय विभेद प्रदत्त कानुनी व्यवस्थालाई कडाइकासाथ पालना गर्नुपर्न भन्दै दलित मुक्तिमा एमाले लागि परेको बताउनुभयो । 

नेकपा एमाले जात, लिङ्ग तथा वर्गका आधारमा गरिने सबैखाले विभेदको विरुद्धमा रहेको भन्दै समाजमा सबैलाई सही ढङ्गले जीवनयापन गर्ने अधिकार रहेको सचिव अर्यालको भनाइ छ । उहाँले जातीय विभेदको अन्त्यका लागि सरकारले कानुन बनाएपनि लागु हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य धनमाया विश्वकर्मा, पूर्व सांसद टेकु नेपाली, पूर्व सांसद मोहन रेग्मी, एमाले जिल्ला कमिटी अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस, मुक्ति समाजका केन्द्रीय सदस्य तिलकराम विश्वकर्मा, शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष हिमलाल ढकाल लगायतको उपस्थिति थियो ।