• १३ वैशाख २०८१, बिहिबार

दलितले सयौँ वर्षसम्म सम्झनेगरी केही घोषणा गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

blog

अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौं, चैत ७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताउनुभएको छ। 

मंगलबार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताउनुभएको हो। 

उहाँले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झनेगरी केही कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले दलित समुदायका माग र मुद्दाको सम्बोधन अहिलेको परिस्थितिमा आफूले बाहेक अरूले गर्न नसक्ने पनि बताउनुभयो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले भर्खरै पर्सुरामजीले २० बुँदे माग भनेर जे राख्नुभएको छ, मलाई लाग्छ, नेपालको आजको मितिमा, म सधैँ भन्दिनँ, आजको दिनमा मैले गर्न सकेँ त्यो अगाडि जान्छ। अरूले गर्ने स्थिति मैले देखेको छैन। त्यसकारण म तपाईँहरूको अगाडि आजको यो ऐतिहासिक दिनमा के घोषणा गर्न चाहन्छु भने मेरो यो कार्यकालमा दलितले भविष्यसम्म, सयौँ वर्षसम्म सम्झिनेगरी केही घोषणा गर्दैछु। यो विश्वास र प्रतिबद्धता म तपाईँहरूको अगाडि व्यक्त गर्न चाहन्छु।’’

प्रधानमन्त्री दाहालले दलित समुदायको हक र अधिकारको निम्ति सिङ्गो राज्य र राज्यका निकायहरू जिम्मेवारपूर्ण हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो। उहाँले दलित समुदायको विकास र उन्नतिका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार दिनुपर्ने बताउनुभयो। त्यस्तै सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उहाँको भनाइ छ। यसका निम्ति आवश्यक भूमिका खेल्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। 

उहाँले दलित समुदायले आज पाएका संवैधानिक र कानुनी हक, अधिकार जनयुद्धको उपलब्धिको रूपमा आएको बताउनुभयो।