• १२ मंसिर २०८१, बुधबार

बेनी-गलेश्वर सडक मार्ग खुलेकाे दुई दशकपछि कालोपत्रे हुँदै

blog

बेनी–गलेश्वर सडक चौडा बनाउन डोजरले काम गर्दै । तस्विर : ठाकुरप्रसाद आचार्य ।

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, चैत ७ गते । सडकको ट्रयाक खुलेको करिब दुई दशकपछि सडक कालोपत्रेको तयारी गरिएको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीदेखि गलेश्वर खण्डको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न लागिएको हो । 

सडक कालोपत्रे योजना अघि बढेसँगै लामो समय साँघुरो सडक, हिलो र धुलोबाट यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ । उक्त सडकलाई कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत समावेश भएपछि कालोपत्रे योजना अघि बढेको हो । 

करिब तीन किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे योजना गत माघ महिनादेखि थालिएको हो । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्कामार्फत स्तरोन्नतिका लागि जय धन्नजय-मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.लि. जेभीसँग सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नेगरी १२ करोड २५ लाख ९४ हजार चार सय ३६ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । 

ठेक्का सम्झौता लगत्तै योजना स्थलमा तीन वटा एक्साभेटर, निर्माणमा प्रयोग हुने अन्य उपकरण र करिब एक सय ५० जना मजदुर परिचालन गरेर धमाधम सडक निर्माण थालिएको छ । सडक फराकिलो पार्न कटिङ, मेशनरी वाल निर्माण र ग्याबियन झाली लगाउनेलगायतका स्ट्रक्चरका कामहरु धमाधम भइरहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनाको अवधिमा करिब २० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, कल्भर्ट निर्माण, दुई सय मिटर आरसीसी ढलानसहित कालोपत्रे गर्ने योजना रहेको आयोजनाका प्रमुख प्रजापतिले बताउनुभयो । असार अगावै योजनामा करिब ८० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य रहेको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । उहाँका अनुसार असारभित्र कालोपत्रे बाहेकको सम्पूर्ण काम सक्ने र बर्खा सकिएपछि कालोपत्रे गर्ने लक्ष्य छ ।   

निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्काको सम्झौता मितिभन्दा एक वर्ष अगावै योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । सडक निर्माणलाई अवरोध नहोस् भनेर दिनमा साढे ६ घण्टा यातायातका साधन बन्द गरेर निर्माणलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । 

राष्ट्रिय गौरवको आयोजना भएकाले हामीले छिटो निर्माण सम्पन्न गर्न ध्यान दिएका छौं, उहाँले भन्नुभयो ‘हाम्रो क्षमता अनुसार उपकरण र मजदुर परिचालन गरेर सडक निर्माण गरिरहेका छौं । जहाँ सम्म ठेक्का अवधिभन्दा पहिला नै सम्पन्न गर्नेमा विश्वस्त छौं ।’  

मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको यो सडक खण्डलाई समयमै सम्पन्न गर्न आयोजनाले नियमित रुपमा अनुगमन,निरीक्षण र समन्वय गर्नेे कार्यलाई प्रभावकारी बनाएको आयोजनाले जनाएको छ ।

सडक योजना सम्पन्न भएपछि मुस्ताङ जाने पर्यटकका साथै रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका सर्वसाधारणलाई आवतजावत गर्न सहज हुनेछ । प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम र मुक्तिनाथ जाने मुख्य सडक जीर्ण हुँदा  सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।