बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, चैत ७ गते । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले ४४ वर्ष पुराना लिखत तथा मिसिल खोज्न सुरु गरेको छ।
जिल्लाको भुम्लु गाउँपालिका–७ र ८ (साबिक भुम्लुटार, फलाँटे गाविस)का जग्गाधनी पुर्जाविहीन (लालपुर्जा) नागरिकलाई लालपुर्जा दिन सहजीकरण गर्ने उद्देश्यले मालपोत कार्यालयले पुराना लिखत तथा मिसिल खोज्न सुरु गरेको हो।
काभ्रेपलाञ्चोकका प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले नापी कार्यालयले लालपुर्जाविहीन नागरिकको लालपुर्जा बनाउनका लागि कागजात भिडाई जग्गाको अन्तिम स्वामित्व पछिसम्म फरक नपर्ने गरी लिखत भिडाउन गरेको अनुरोधलाई कार्यान्वयन गर्न थालिएको हो।
सो कार्यालयमा रहेका ४४ वर्षदेखिका पुराना लिखत तथा मिसिल बुधबारदेखि खोज्न सुरु गरिएको छ। प्रमुख मालपोत अधिकृत दाहालले भन्नुभयो, “स्थानीयवासी चार दशकभन्दा बढी समयदेखि लालपुर्जा नपाएर बस्नुभएको रहेछ। हामीलाई नापीले जग्गाको स्वामित्व भिडाउन गरेको आग्रहलाई स्वीकार गर्दै स्थानीय नागरिकलाई लालपुर्जा दिन सहजीकरण गर्ने उद्देश्यले पुराना लिखत खोज्न सुरु गरेका हौँ।” उहाँले बुधबार कार्यालय समयपछि १३ जना र बिहीबार कार्यालय समयअघि ११ जना कर्मचारी खटिएर २०३६ देखि २०३९ सालसम्मका करिब ११ हजार लिखत तथा मिसिल खोजिएको बताउनुभयो।
उहाँले ११ हजार लिखत तथा मिसिल खोज्ने क्रममा साबिकका भुम्लुटार, फलाँटे गाउँ विकास समितिका डेढ सयवटा लिखत फेला परेको बताउनुभयो। “साबिकका तीन गाविसका लिखत खोज्नका लागि कार्यालयमा रहेका करिब एक करोड १० लाखवटा लिखत तथा मिसिल खोज्नुपर्छ, पुराना कागजात भएकाले धुलोका कारण मिसिल खोज्न समस्या छ,” प्रमुख मालपोत अधिकृत दाहालले भन्नुभयो।
उहाँले साबिकका भुम्लुटार, फलाँटे र पीपलटारका नागरिक बसाइँ सरी बारा, पर्सा र रौतहटलगायतका स्थानमा गएकाले जग्गाको स्वामित्व खोज्न समस्या भएको बताउनुभयो। कार्यालयले लिखत र मिसिलहरू खोजेर उक्त मिसिललाई फोटोकपी र बाइन्डिङ गरी अन्तिम स्वामित्वको किटान गरी नापी कार्यालयलाई लालपुर्जा बनाउनका लागि पठाउनेछ। तत्कालीन अवस्थामा पीपलटार गाविसले परिचित भएको यस गाविस फुटेर भुम्लुटार र फलाँटे गाविस भएको थियो। साबिकको पीपलटार गाविस हुँदादेखि नै कमाइ गर्दै आएको खेतीयोग्य जमिन पीपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि उक्त जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद भएको थियो।