• ८ वैशाख २०८१, शनिबार

कृषि कार्यालयका प्रमुखसहित नौ जनाविरुद्ध ६६ लाखको भ्रष्टाचार मुद्दा

blog

फाइल तस्बिर

काठमाडौं, चैत ६ गते। कालिकोटको कृषि ज्ञान केन्द्र (हाल कृषि विकास कार्यालय) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित नौ जनामाथि ६६ लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सोमबार विज्ञप्ति जारी गर्दै बस्नेतसहित खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाई तथा ऊर्जा विकास मन्त्रालयका तत्कालीन सब-इन्जिनियर गुरुराज संज्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

सम्भाव्यता अध्ययनसमेत नगरी विद्युत आपूर्ति पनि नभएको अवस्थामा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त भएको सिफारिस गरेको अनुसन्धानबाट खुलेको छ।

यसैगरी, मूल्याङ्कन छनौट समितिका पदाधिकारी हरिप्रसाद पण्डित, श्रीधर अधिकार, दीपककुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ दाहालले उच्च प्रविधियुक्त नर्सरीको स्थापना, सञ्चालन, विस्तार र सुदृढीकरण कार्यविधिको अध्ययन नगरी गलत प्रतिवेदन दिने कार्य गरेको आरोप छ। 

आयोगको विज्ञप्तिमा कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्रबहादुर शाहीले विद्युत् नै नभएको ठाउँमा विद्युत चाहिने आयोजनाको लागि अनुदान माग गरेको, ठूलो सङ्ख्यामा रोजगारी दिलाउने गलत आश्वासनको प्रस्ताव तयार गरेको उल्लेख छ।

आरोपितमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम माग दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।