कावासोती समाचारदाता
कावासोती, चैत ६ गते । पूर्वी नवलपरासी जिल्लामा रहेका आठवटा क्याम्पसमध्ये तीनवटामा स्ववियु निर्वाचन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यबिन्दु बहुमुखी क्याम्पस र देवचुली कलेजमा शान्तिपूर्ण मतदान भएको छ।
कुमारवर्ती बहुमुखी क्याम्पसमा ५९१ मतदाता रहेकोमा २८१ मत खसेको छ। मध्यबिन्दु बहुमुखी क्याम्पसमा एक हजार १८४ मतमध्ये ६६३ र देवचुली कलेजमा २८३ मतमध्ये २४० मत खसेको जनाइएको छ।
जनमुखी आदर्श बहुमुखी क्याम्पसमा भने चैत १० गते निर्वाचन हुनेछ। विद्यार्थी सङ्गठनबीच विवाद हुँदा नवजागरण बहुमुखी क्याम्पस चोरमारामा निर्वाचन प्रक्रिया रोकिएको नेपाल विद्यार्थी सङ्घ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताउनुभयो।
नवलपुरका अरुणखोला बहुमुखी क्याम्पस, एसपीएम कलेज, कालिका संस्कृत विद्यापीठमा यसअघि नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ। दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन १४ वर्षपछि हुँदा विद्यार्थीमा उल्लास छाएको छ।
स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।
स्ववियु निर्वाचनको शान्तिसुरक्षाका लागि क्याम्पस परिसर तथा मतदान स्थल परिसरमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको थियो। मतगणना साँझबाट हुने बताइएको छ।