• १४ वैशाख २०८१, शुक्रबार

रासायनिक मलको मूल्यवृद्धि फिर्ता लिन एमालेको माग

blog

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ५ गते । नेकपा (एमाले) ले रासायनिक मलमा भएको मूल्यवृद्धिको फिर्ता लिन माग गरेको छ । एमाले कृषि तथा पशुपन्छी विकास विभागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै रासायनिक मलमा दिँदैआएको अनुदान भारी मात्रामा कटौती गर्ने निर्णयप्रति ध्यानाकर्षण गराएको हो । 

सो विभागका प्रमुख गिरधारीलाल न्यौपानेले गत फागुन २६ गते युरियामा प्रतिकेजी ११, डीएपीमा सात र पोटासमा नौ रुपियाँ मूल्यवृद्धि भएकोमा यसले कृषि उत्पादनलाई दुरुत्साहन गरिएको विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा करिब १७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक भएको तर यसको ५० प्रतिशत मात्र आवश्यकता मान्दा पनि करिब साढे चार लाख मेट्रिक टन मल आयात गर्ने गरिएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यप्रति मेट्रिक टन १२०० बाट घटेर ५०२, डीएपी प्रतिमेट्रिक टन १३०० बाट घटेर ८३२, पोटास प्रतिमेट्रिक टन ९०० बाट घटेर ७३७ अमेरिकी डलर कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेको अवस्थामा नेपाली किसानलाई मार पर्नेगरी मूल्यवृद्धि गर्ने निर्णयको औचित्य पुष्टि नहुने जनाइएको छ । 

एमालेले मलको मूल्य यथावत् कायम गर्दै आवश्यक मात्रामा मलको सहज आपूर्तिको सुनिश्चितता गर्न र कृषि उत्पादनको उचित मूल्यमा खरिद गर्ने कार्यक्रम लागू गर्न माग गरेको छ ।