• २८ वैशाख २०८२, आइतबार

‘सञ्चार क्षेत्रको आत्मसम्मानमा चोट’

blog

काठमाडौँ, चैत ५ गते । नेपाल पत्रकार महासङ्घले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै आपत्ति जनाएको छ।

महासङ्घले शनिबार विज्ञप्ति जारी गर्दै संसद्को मुख्य नेतृत्वबाट पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो। सङ्घीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा शुक्रबार सभामुख घिमिरेले दिनुभएको अभिव्यक्तिप्रति महासङ्घले असन्तुष्टि जनाएको छ।

“सभामुख घिमिरे र महासङ्घको प्रतिनिधिमण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर महासङ्घले गरेको छ,” महासङ्घका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। महासङ्घले सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु दुःखद भएको जनाएको छ। उक्त अभिव्यक्तिले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासङ्घले गम्भीर चासो र चिन्ता प्रकट गरेको छ।

विज्ञप्तिमा सभामुखको अभिव्यक्तिप्रति तत्काल महासङ्घको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि विज्ञप्तिमार्फत आग्रह गरिएको छ। सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभए महासङ्घ कानुनीलगायत अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।