• १५ चैत २०८०, बिहिबार

प्राविधिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने सुझाव

blog

बिन्दु थापा 

तानसेन, चैत ४ गते । शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न प्राविधिक शिक्षालाई अनिवार्य बनाउनुपर्नेमा सरोकारवालाले सुझाव दिएका छन् । 

नेपाल शिक्षक सङ्घ पाल्पाको नवौँ अधिवेशन तथा सम्मान कार्यक्रममा उहाँहरूले त्यस्तो सुझाव दिएका हुन् । नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेलले देशको सामाजिक, आर्थिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न र दक्ष जनशक्तिको उत्पादन गर्न प्राविधिक शिक्षा महत्त्वपूर्ण हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो । मुलुकको सर्वाङ्गीण विकासको मूल आधार शिक्षा नै भएकाले गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच पुग्न जरुरी छ । ” 

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले शिक्षामा हुँदाखाने र हुनेखानेबीचको फरक रहन नहुने बताउनुभयो । कार्कीले निजी विद्यालयमा पढाइ राम्रो हुन्छ तर सरकारी विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने जुन गलत बुझाइ छ त्यसलाई हटाउनु पर्नेमा जोड दिनुभयो ।

शिक्षक महासङ्घ पाल्पाका अध्यक्ष कृष्ण थापाले हाम्रो शिक्षाले जीवन निर्वाहका लागि चाहिने आधारभूत सीप पनि प्रदान गर्न नसकेको अवस्थामा राज्यबाटै निजी र सरकारी भनी शिक्षामा जुन विभेद गरेको छ त्यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । 

नेपाल शिक्षक सङ्घ पाल्पा शाखाका अध्यक्ष धनकला गाहाले शिक्षा क्षेत्रमा तयार पारिएका नीतिहरू राम्रा भए पनि अस्थिरखालका भएकाले यसको  कार्यान्वयन र अनुगमनको अभाव फितलो भएको बताउनुभयो । गाहाका अनुसार शिक्षामा आमूल सुधार ल्याउने हो भने बनेका शिक्षा नीतिलाई कार्यान्वयनमा लैजानुपर्छ । 

सङ्घका सचिव अशोक घिमिरेले गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दैआएको भए पनि व्यवहारिक शिक्षा नभएको बताउनुभयो । उहाँले प्रत्येक शिक्षकका लागि ल्यापटपको व्यवस्था गर्नुपर्ने र अबका परीक्षामा प्राविधिक ज्ञानलाई जोड दिएर नीति नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।