• ८ वैशाख २०८१, शनिबार

कैलालीमा स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, चैत २ गते । टीकापुर नगरपालिका ब्लक नम्बर १२ की मीना परियारको पेटमा समस्या भयो । स्वास्थ्य बीमा गरेको हुनाले परिचयपत्र बोकी छिमेकीलाई सहयोगी बनाएर टीकापुर अस्पताल आउनुभयो । उहाँले चार घण्टाभित्र मुटुको इसीजी, पेटको एक्सरे, रगत जाँच गरेर रोग पत्ता लगाई औषधि पाउनुभयो ।

‘बीमा गरेकाले पहिलेजस्तो बिरामी भइसकेपछि पैसा खोज्नु परेन, सरासर अस्पताल आउन सके’ परियारले भन्नुभयो, ‘बील हेर्दा पाँच हजार रुपियाँभन्दा बढी छ । तर एक रुपियाँ पनि तिर्नु परेन, धेरै नै सजिलो भयो ।’ टीकापुर नगरपालिका विजयनगरकै बाधुँराम चौधरी श्रीमतीको उपचार गर्दा पर्चा काटनेदेखि परीक्षण र औषधिसम्म कुनै पैसा नलाग्दा बीमा गरेर राम्रै गरेछु जस्तो लागेको बताउनुभयो । बीमाले दीर्घरोगीहरुलाई झन् सजिलो बनाएको लम्कीचुहा नगरपालिका बाघरमाराकी विष्णा भण्डारीको अनुभव छ । 

भण्डारी भन्नुहुन्छ, ‘सबै औषधि उपचारको पैसा तिरेर उपचार लिन त सकिन्न होला जस्तो लाग्छ, पैसा नभएको बेला निःशुल्कमा उपचार पाएजस्तै लाग्छ ।’ कैलालीमा स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढ्दो छ । सरकारले सबै नागरिकलाई स्वास्थ्यमा पहुँच बनाउने उद्देश्यले तीन हजार पाँच सय रुपियाँमा ६ जनाको परिवारलाई वर्षमा एक लाख बराबरको स्वास्थ्य बीमा गरिरहेको छ । 

निःशुल्क स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार भनिएकाले बीमाले उपचारमा नागरिकको पहुँच वृद्धि हुन लागेको छ । डाक्टरले लेखेका सबै औषधि बीमामै पाउन सके नागरिक स्वास्थ्यमा सुरक्षित हुने लाभग्राही तथा शिक्षक सुमन न्यौपानेले बताउनुभयो । 

स्वास्थ्य बीमा सुरु भएको वर्ष २०७३–७४ मा कैलालीमा एक हजार ८३२ परिवारले बीमा गरेकोमा २०७५–७६ मा १४ हजार २४१, २०७६–७७ मा ३२ हजार ६६१, २०७७–७८ मा ५६ हजार ३४६ परिवार बीमामा आबद्ध भएका छन् । चालु आर्थिक वर्षको पहिलो नौ महिनामै ४९ हजार ३४८ परिवार आबद्ध भैसकेका छन् । स्वास्थ्य बीमाप्रति आकर्षण बढिरहेकाले चौथो त्रैमासमा ६५ हजार परिवार नाघ्ने स्वास्थ्य बीमा बोर्ड कैलालीका दर्ता अधिकारी सीता क्षेत्रीको भनाइ छ । 

बीमाका लाभग्राही बढेसँगै उनीहरूले गर्ने उपभोग खर्च पनि बढेको छ । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका संयोजक रमेन्द्रप्रसाद कुशवाह आ.व. २०७८–७९ मा २४ करोड ५४ लाख भुक्तानी भएकोमा चालु वर्षको छ महिनामै १६ करोड ५७ लाख दाबी भुक्तानी भैसकेको बताउनुभयो । 

कैलालीमा सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, मालाखेती अस्पताल, लम्कीचुहा अस्पताल र चौमाला, उदासिपुर, जोशीपुर, भजनी प्राथमिक स्वास्थ्य केन्द्र र केही निजी अस्पताललाई सेवा बिन्दु मानेर बिमितले स्वास्थ्य सेवा पाइरहेका छन् । कैलालीका अस्पतालमा उपचार नभए रेफर लिएर देशका अरू अस्पतालबाट पनि उपचार सेवा लिन सकिन्छ ।