• ११ मंसिर २०८१, मङ्गलबार

मार्फामा तेरमी पर्व

blog

म्याग्दी समाचारदाता

म्याग्दी, फागुन २८ गते । हिमालपारिको जिल्ला मुस्ताङको चर्चित ठाउँ मार्फामा बसोबास गर्ने थकाली समुदायको महत्वपूर्ण पर्व ‘तेरमी’ बुधबारदेखि चलिरहेको छ। यो पर्व सात दिनसम्म मनाउने गरिन्छ। 

पहिलो दिन भेटघाट, त्यसपछिको अन्य छ दिनसम्म अन्य गतिविधिका साथै युवाको दुई समूह भाले (फो) र पोथी (म्हो) समूह बनाएर तारा खेल (आर्चरी) खेल्ने गरिन्छ। 

थकाली समुदायअन्तर्गत थाकखोला क्षेत्रमा बसोबास गर्नेले मात्र नभई अन्य थकाली समुदायले पनि ‘तोरन्ल’ र ‘त्युङ्ला’ पर्व मनाउने गर्छन्। फागुपूर्णिमाकै वरपर मनाइने यस्ता पर्वको आआफ्नै तवरले व्याख्या गरिने भए पनि तरेमी पर्वलाई मार्फा क्षेत्रमा निकै महत्व दिने गरिन्छ।

तेरमी, तोरन्ल र त्युङ्ला पर्वको शाब्दिक अर्थ करिब उस्तै भए पनि मनाउने तरिका र विधि केही फरक रहेको मार्फाका युवा दीपक लालचनको भनाइ छ। मुस्ताङ जिल्लाको कागबेनीदेखि तल घाँसादेखि माथिको क्षेत्रलाई सामान्यतया थाकखोला भनिन्छ।

हिन्दु धर्मावलम्बीले विश्वभर फागुपूर्णिमा मनाउँदै गर्दा थाक क्षेत्रका थकालीले भने तरेमी, तोरन्ल तथा त्युङ्ला पर्व मनाउने गर्छन्। स्थानीय शक्तिलाल ज्वारचनका अनुसार पहिलो दिन भेटघाट मात्रै हुने गर्छ। 

त्यसपछिका छ दिन तारा खेल तथा नाचगान गरेर मनाउने गरिन्छ। फागुपूर्णिमाको दिनबाट सुरु भएको पर्व सप्तमीमा सकिन्छ। हरेक चिज तथा गतिविधि दुई समूह विभाजन गरेर मनाउने चलन रहेको उहाँको भनाइ छ। तारा खेल, गीत तथा अन्य नृत्य र भोजका लागि सामूहिकता नै यसको महत्वपूर्ण पक्ष भएको ज्वारचनले बताउनुभयो। 

समग्र थकालीले तोरन्ल पर्व मनाएजस्तै गरी मार्फा क्षेत्रमा बसोबास गर्ने तथा जन्मेका थकाली समुदायको पर्व तेरमी वसन्त ऋतुको आगमनलाई स्वागत गर्ने हेतुले मनाइने गरेको पनि पाइन्छ। 

हिउँदयाम सकिएको र चिसो बिदा हुँदै गर्मीको आगमनका रूपमा पनि यो पर्वलाई मुख्य रूपमा मनाइन्छ। यो पर्वमा आफ्ना दिवङ्गत पितृलाई सम्झिएर पूजा गर्ने गरिन्छ। थकाली समुदायका महिलाले मध्यरातमा उठेर तीन दिनसम्म पितृलाई चोखो पानी तथा खानेकुरा चढाउँछन्।

पूजा गर्दा पितृको उद्धार भई आशीर्वाद दिने मार्फा क्षेत्रका थकालीको विश्वास छ। सामान्यतया दशैँ–तिहारको आगमनमा अन्यत्र हुनेजस्तै यो पर्वको आगमन पूर्वसन्ध्यामा आफ्ना घर आगन सरसफाइ गर्ने र रङ लगाउने गरिन्छ।  घरभित्रका भाँडावर्तन सफा गर्नुका साथै आफ्ना चेलीबेटीलाई पनि घरमा बोलाएरै पर्वमा सहभागी गराउने चलन छ।