• १९ असार २०८१, बुधबार

झापा–पोखरा सिधा उडान सुरु, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने

blog

लीलाराज खड्का 

बिर्तामोड, फागुन २८ गते । भद्रपुर–पोखरा सिधा उडान सञ्चालनमा आएको छ । चन्द्रगढी (भद्रपुर) विमानस्थलबाट बुद्ध एयरले शुक्रबारदेखि भद्रपुर–पोखरा दैनिक सिधा उडान सुरु गरेको हो । यस उडानबाट पोखरा घुम्न चाहने छिमेकी भारतका दार्जिलिङ, सिक्किमलगायत भुटान, बर्मा, बङ्गलादेशका पर्यटकलाई सहज हुनेछ । 

भद्रपुर–पोखरा सिधा उडान सञ्चालन भएको अवसरमा भद्रपुर नगरपालिकाले शुक्रबार चन्द्रगढीमा आयोजना गरेको गन्तव्य पोखरा–भद्रपुर पर्यटन प्रवद्र्धन अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै कारक भएको बताउनुभयो ।

आचार्यले आन्तरिक तथा बाह्य पर्यटनको समन्वयबाट नेपालको पर्यटन व्यवसाय फस्टाउने बताउँदै तीन तहकै सरकारले समान महत्व दिएर लगानी गरे देशको अर्थतन्त्रमा पर्यटन क्षेत्र महत्वपूर्ण हिस्सा हुने बताउनुभयो । आचार्यले विदेशी पर्यटक नेपाल आउँदा भौतिक पूर्वाधार हेर्न नभएर नेपालको प्रकृतिको यथार्थ स्वरूप हेर्न आउने भन्दै जथाभाबी प्राकृतिक संरचना भत्काएर भौतिक पूर्वाधार बनाउन नहुने बताउनुभयो ।

कार्यक्रममा इलामको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार सेङ्वो, झापाको कनकाईका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोडका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलगायतले धारणा राख्दै पर्यटकीय क्षेत्रसम्म पुग्ने आधारभूत संरचना निर्माणमा बजेट अभावले आशातीत काम गर्न नसकेको दुखेसो पोख्नुभयो ।

कार्यक्रममा सहभागी झापाका पत्रकारहरूले झापाका सम्भावित पर्यटकीय क्षेत्रमा सडक, पिउने पानी, यातायातजस्ता आधारभूत पूर्वाधारले छुन नसकेको तथा चन्द्रगढी विमानस्थलमा सञ्चालनमा रहेका ट्याक्सी व्यवसायीको सिन्डिकेटका कारण समेत पर्यटकले सास्ती बेहोर्नुपरेको गुनासो आउने गरेको भन्दै सरोकारवाला सचेत हुन सुझाव राख्नुभएको थियो । भद्रपुरका नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता तथा पोखरा महानगरका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष टीकाराज ढकाल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेललगायतले धारणा राख्नुभएको थियो ।