• २१ पुस २०८१, आइतबार

शल्यक्रिया गरेर जन्माइयो छावा

blog

वसन्त पराजुली

खोरसोर (सौराहा), फागुन २५ गते । नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो । 

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिनुभयो । हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको पनि सहभागिता थियो ।  क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आउनुभएका बेला यो घटना भएपछि उहाँको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा संलग्न अन्य चिकित्सकमा डा. अमिर सडौला, विकल्प कार्कीलगायत हुनुहुन्थ्यो ।  

दुई दिनदेखि बेथा लागेर गण्डकीकलीले छावा जन्माउन सकेकी थिइन । चिकित्सकको टोलीले शल्यक्रिया गरेर छावा निकाल्यो । 

“दुई दिनदेखि बेथा लागेर गण्डकीकलीले छावा जन्माउन सकेकी थिइन । चिकित्सकको टोलीले शल्यक्रिया गरेर छावा निकाल्यो,” डा. श्रेष्ठले भन्नुभयो । उहाँले नेपालमै पहिलो पटक हात्तीको शल्यक्रिया गरेर छावा निकालिएको बताउनुभयो । 

“नेपालमा अहिलेसम्म कुनै पनि जङ्गली जनावरको शल्यक्रिया गरेर बच्चा जन्माइएको थिएन । यो नै पहिलो हो,” डा. श्रेष्ठले भन्नुभयो, “बच्चा पेटमै अड्किएपछि हामीले हात्तीको पुठो र योनीको बीचमा करिब २० सेन्टिमिटर चिरेर बच्चा निकालेका हौँ ।”

केही दिन पाठेघरबाट फोहोर पानी निस्किएपछि चिरिएको घाउ दुई/चार दिनमा सिलाइने चिकित्सकले जनाएका छन् । डा. श्रेष्ठले शल्यक्रिया गर्ने क्रममा हात्तीलाई चिर्ने ठाउँमा नदुख्ने र लट्ठ्याउने औषधि दिइएको पनि जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्म कुनै पनि जङ्गली जनावरको शल्यक्रिया गरेर बच्चा जन्माइएको थिएन । यो नै पहिलो हो । 

शल्यक्रिया गरेर बच्चा जन्माइएको गण्डकीकली २५ वर्षकी हो । यो उसको दोस्रो बेत हो । यसअघि करिब तीन वर्षअघि पनि हात्तीको छावा अड्किएर डोरी लगाई निकालिएको थियो । त्यस बेला छावा बचाउन नसकिएको डा. श्रेष्ठले बताउनुभयो । 

“बच्चा उल्टो रैछ । अगाडिको खुट्टा पहिला आउनुपर्नेमा पछाडिको खुट्टा पहिला निस्कँदा समस्या भयो,” डा. श्रेष्ठले भन्नुभयो । यो बच्चा ठीक ‘पोजिसन’मा नहुँदाको समस्या हो । अहिले नयाँ जन्मिएको छावाले पनि तत्काल श्वासप्रश्वास नगरेपछि त्यसलाई चिकित्सकले केहीबेर सुँडबाट कृत्रिम श्वास दिएर बचाइएको छ । केहीबेरको कृत्रिम श्वासप्रश्वासपछि छावा अहिले स्वस्थ रहेको पनि चिकित्सकले बताएका छन् ।

यसअघि प्रजनन केन्द्रमा २०५८ सालमा छावा जन्माउन नसकेर एक हात्तीको माउबच्चा नै मरेका थिए । कुनै पनि ढोई गर्भवती भए उसले २२ देखि २४ महिनामा छावा जन्माउँछे । 

२०४२ मा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा २०५४ सालयता ६२ वटा छावाछावी जन्मिएका छन् । हात्ती गर्भवती भए पत्ता लगाउने पनि प्रजनन केन्द्रका कर्मचारीमा आफ्नै ज्ञान छ । २० वर्षदेखि प्रजनन केन्द्रमै माउते पदमा कार्यरत चतुरलाल चौधरीले भन्नुभयो, “गर्भवती हात्ती भाले लागेको तीन÷चार महिनामै स्तन बढेर आउँछ । शरीर मोटाउँछ अनि २२ देखि २४ महिनामा बच्चा जन्मन्छ ।”