• १२ मंसिर २०८१, बुधबार

असी सामुदायिक भवन बन्ने

blog

बागलुङ समाचारदाता

बागलुङ, फागुन २४ गते । सामाजिक विकास कार्यालय बागलुङले चालू आर्थिक वर्षमा साना ठूला गरी एकैसाथ ८० वटा सामुदायिक भवन निर्माण गर्ने भएको छ। पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक सङ्घ संस्था, मठमन्दिर तथा विद्यालय भवनसमेत गरी निर्माण अघि बढाएको हो। जिल्लाका दसवटै पालिकामा ती भवन बन्नेछन्। छ करोड ७० लाख रुपियाँ लगानीमा सामुदायिक भवन निर्माण थालेको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्मरबहादुर जीसीले जानकारी दिनुभयो। 

हालसम्म ६० भवनको योजना सम्झौता भइसकेको छ। फागुन मसान्तसम्म बाँकी योजना सम्झौताका लागि समय प्रदान गरिएको छ। अघिल्लो वर्षभन्दा यो वर्ष मठमन्दिर बनाउने योजना धेरै छन्। सामुदायिक भवन र विद्यालय भवनको योजना पनि समावेश गरिएको छ।

बागलुङ नगरपालिकामा सबैभन्दा धेरै भवन बनाइँदै छन्। बानपामा सामाजिक विकास कार्यालयका २१ योजना छन्। ती योजनामा दुई करोड १० लाख रुपियाँ खर्च हुनेछ। ३० लाख रुपियाँ लागतमा जिल्ला सदरमुकाममा मानव अधिकारका लागि एकल महिला समूहको भवन बन्दै छ। आमा समूह, सामुदायिक प्रहरीको भवन र मन्दिर मर्मत तथा पुनर्निर्माण योजना पनि रहेका छन्। 

सबैभन्दा कम योजना बरेङ र तमानखोला गाउँपालिकामा छन्। तीन–तीनवटा भवनको योजनामा २० लाख रुपियाँको दरले बजेट व्यवस्थापन गरिएको छ। तमानखोलामा दुई सामुदायिक भवन र एक मन्दिर निर्माणको योजना छ। बरेङमा मन्दिरको संरचना निर्माण र एक योजना विद्यालयको पर्खाल निर्माणको छ। 

जैमिनी नगरपालिकामा छ योजनाका लागि ४५ लाख, ढोरपाटन नगरपालिकामा आठ योजनाका लागि ४५ लाख, गलकोट नगरपालिकामा आठ योजनाका लागि ६० लाख, काठेखोलामा १२ योजनाका लागि एक करोड ५२ लाख, ताराखोला गाउँपालिकामा सात योजनाका लागि ५५ लाख, बडिगाडमा आठ योजनाका लागि ५५ लाख र निसीखोलामा चार योजनाका लागि २५ लाख रुपियाँ विनियोजित छ।